नेपाली सांगितिक क्षेत्रकी उदयीमान लोक गायिका सम्झना लामिछाने मगर हालैका दिनहरुमा निकै चर्चित बन्न पुगेकी छिन ।सुमधुर स्वरकी धनी लामिछानेका घरमा पराल बारिमा बन्सो ,फूल फुलेर पहेँलै भयो, बनैमा फूल बसायो जस्ता गीतहरु अत्याधिक रुचाइएका गीतहरु हुन ।सालैजो भाकाबाट एल्बम निकाल्न सुरु गरेकी गायिकाका तिजको चार र लोक दोहोरीका चार वटा आफ्नै एल्बम बजारमा आइसकेका छनभने अन्य दर्जनौ गीतहरुमा आफ्नो स्वर सजाएकी छिन। सुरिलो स्वर मात्र होइन उनको अभिनयको कला पनि तारिफ योग्य नै छ जुन मगर चलचित्र “म्यार्मिन “मा देख्न सकिन्छ ।त्यस्तै परदेशी चलचित्रमा उनको कमेडी भुमिका रहेको छ।गला र कलामा आफ्नो राम्रो छवि बनाउदै गरेकी गायिकाले इमेज अवार्ड २०७२ लगाएत थुप्रै सम्मान प्राप्त गरिसकेकी छिन ।
भर्खरै एक साँस्कृतिक कार्यक्रमको लागि दक्षिण कोरिया आएको समयमा झबिन्द्र बेल्बासेसँग गरिएको छोटो कुराकानी।
सम्झना जि नमस्कार कस्तो भयो त कोरियाको अनुभव ?
कोरियामा दोस्रो पल्ट मलाई स्टेज कार्यक्रममा बोलाउनु भयो एकदम खुसी लाग्यो र चिसो मौसममा हजारौ दर्शक आगाडी उभिएर गाँउदा माहोल तात्यो जे होस लोक दोहोरीको क्रेज अझै बढेर गएको अनुभूति भयो ।
कोरियामा दोस्रो पल्ट भन्नु भो अनि कति देश पुग्नु भयो नि ?
सबै गरेर चौध देश पुगिसके र मलेसिया ,दुबही मा धेरै पल्ट भैसक्यो जे होस बिदेशमा लोक दोहोरी लाई धेरैले मन पराउनु हुन्छ ।
यो क्षेत्रमा लाग्न कसरी प्रेरित हुनुभयो?
मेरो सानै देखि रुचि भन्नुपर्छ बास्तबमा मेरो दिदी र मम्मीले मलाई प्रेरित गर्नुभयो । स्कुल पढ्दा देखिनै मैले धेरै कार्यक्रममा भाग लिन्थे ।धेरै कार्यक्रममा पहिलो दोस्रो हुँदै पुरस्कृत हुँदा अझै उत्साह बढ्यो । रेडियोमा गीत बज्दा गाउन मन लाग्ने टेलिभिजनमा हेरेर नाच्न रहर लाग्ने यस्तै भन्नुपर्छ ।
आफ्नो पारिबारिक पृष्ठभुमि बताईदिनु हुन्छ कि?
जन्मघर अर्घाखाँचीको जुकेना गा.बि.स हो . मेरो बुबा त्यही स्कुलमा शिक्षण गर्नुहुन्छ ।सामान्य नै भन्नुपर्छ । बास्तबमा गाँउको माहोलमा हुर्किएकि हुँ ।
सांगीतिक यात्राको थालनी कसरी गर्नु भो नि?
मलाई सुरु सुरुमा मेरो पेशा नै यहि हो जस्तो त लागेको थिएन ।२०६२ साल तिर काठमाडौ पढ्न आएपछि आर आर क्याम्पसमा पढदै गर्दा मैले दोहोरी साँझमा गीत गाउँन थाले गाउने क्रममा मैले दोहोरी सबाल जवाफ गर्न सिके । बिस्तारै मलाई आत्म बिश्वास बढदै गयो र मलाई लाग्यो कि यो क्षेत्रमा मैले प्रगती गर्न सक्छु भनेर ।बिस्तरै म एल्बम र स्टुडियोमा काम गर्न सुरु गरे र एकाएक ब्यस्त भएकाले दोहोरी साँझमा समय दिन सकिन एक त राति राती समय दिनु पर्ने गार्हो र अर्को तिर
म स्टेज कार्यक्रममा पनि ब्यस्त भएँ ।यसरी नै म निरन्तर आफ्नो पेशामा लागिरहेकी छु ।
गीत गाएर जीवन यापन गर्न कत्तिको सजिलो छ ।
मैले मेरो जीवन यापन गर्न अरु पेशा गरेको छैन ।आजसम्म पुगेकै छ्।आफुलाई मन पर्ने पेशा भएकाले गार्हो भएपनि सजिलो लाग्छ ।
भनिन्छ नि बिबहिता नारी लाई विभिन्न ठाँउमा कार्यक्रम गर्न जान कतिको सहज हुन्छ ?
म बिबाह गर्नु अघिनै मेरो पेशा गायिका हो भनेपछि मेरो पेशालाई मन पराउनेले नै मलाई मन पराएको हुँदा घर परिवार बाट एकदमै सहयोग छ। मेरो मान्छे बाट मैले सहयोग पाएकी छु ।
सुरुमा रहर लागेर एल्बम निकाल्न शहर पस्ने अनि असफल बनेका उदाहरण छन नि तपाईं के भन्नु हुन्छ?
हुनत रहर लाग्नु नराम्रो होइन पहिलो कुरा मलाई यो पेशा ठिक छ छैन आफै बिचार गर्नुपर्छ । आत्तिने र मात्तिने पटक्कै गर्नु हुँदैन । प्रयास जारी गर्नु पर्छ एक दिन सफल पक्कै भइन्छ । अर्को कुरा अरु क्षेत्र पनि त छन आखिर सफल हुन अन्य क्षेत्र रोज्न पनि त सकिन्छ।
अन्त्यमा के भन्न चाहानुहुन्छ तपाँइका श्रोता र दर्शक लाई ?
मेरा सम्पूर्ण श्रोता र दर्शक हरु प्रति आभारी छु ।जसरी यहाँ सम्म आउनको लागि सबैको साथ र
मायाँ पाएकी छु आगामी दिन हरुमा पनि सबैको साथ रहिरहोस ।हाम्रो लोक संगीत लाई मायाँ गरिरहनुहोस ।