भारतको हरियाणामा आरक्षणको माग गर्दै सुरु भएको जाट आन्दोलनमा मारिनेको संख्या आठ पुगेको छ ।
हरियाणाको झज्जरमा सेना र आन्दोलनकारीबीच भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । आन्दोलन हिंसात्मक बनेपछि सेना परिचालन गरिनुका साथै विभिन्न स्थानमा कफ्र्य आदेश जारी गरिएको छ ।
यसअघि आन्दोलनकारीले हरियाणाको रोहतकमा राज्यका अर्थ मन्त्रीको घरमै आगजनी गरेका थिए । हिंसा मच्चाउनेलाई देख्ने वित्तिकै गोली हान्ने आदेश सरकारले सुरक्षाकर्मीलाई दिएको छ ।
उग्र प्रदर्शनबाट सडक र रेल यातायातमा असर परेको छ । हरियाणाका विभिन्न जिल्लामा एक सातादेखि जारी जाट आन्दोलनका कारण एक सयभन्दा बढी रेल गाडीको सेवा बन्द गरिएको छ ।
प्रभावित क्षेत्रमा विद्यालय र कलेजसमेत बन्द गरिएको छ । राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टरले विधानसभाको आगामी संसद सत्रमा जाट आरक्षणका लागि ठोस कदम लिने आश्वासन दिए पनि आन्दोलनकारी पत्याएका छैनन् ।
आन्दोलनकारी तथा सर्वसाधारणले सरकारले झुठो आश्वासन दिएकाले माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेका छन् । (एजेन्सी)