पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान म्याग्दीको दाना गाविसस्थित रुप्चेको डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । जहाजमा रहेका २३ जनाकै मृत्यु भएको छ ।
त्यस क्षेत्रको जंगलमा आगलागी भएको छ भने शवहरु जलेको अवस्थामा यत्रतत्र छरिएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
आगलागीका कारण त्यस स्थानमा अझै हेलिकप्टर समेत अवतरण गर्न सकेको छैन । पोखराबाट मुस्ताङको जोमसोम जाँदै गरेको तारा एयरको नाइन एनएएचएच विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो ।
विमान आगो लागेको अवस्थामा फेला परेको म्याग्दी प्रहरीका डीएसपी विश्वराज खड्काले जानकारी दिएका छन् । विमान जलेको र वरपरको क्षेत्रमा समेत आगलागी भएको कारण यात्रु जिवित अवस्थामा भेटिने संभावना नरहेको पर्यटन मन्त्री आनन्द पोखरेलले जानकारी दिए ।
विमानमा तीन चालक दलका सदस्य क्याप्टेन रोशन मानन्धर, को-पाइलट विकेस नेम्कुल र परिचारिका रमा राउतसहित २३ जना सवार थिए ।
उद्दारमा खटिएका क्षेत्रीय प्रहरी कार्यालय पोखराका निमित्त प्रहरी नायव महानिरीक्षक महेन्द्र पोखरेलले विमानमा १८ जना नेपाली, दुई विदेशी र दुई बालबालिका रहेको जानकारी दिए । पौने ८ बजे पोखराबाट उडेको विमान म्याग्दीको घोडेपानीसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको थियो ।
उद्दारका लागि अहिले जोमसोमबाट नेपाली सेनाको एउटा हेलिकोप्टर परिचालन गरिएको छ । त्यसैगरी पोखराबाट पनि निजी हेलिकोप्टर परिचालन गरिएको तारा एयरले जनाएको छ ।
तर मौसम खराब हुँदा खोजीमा असर परेको छ । यता तारा एअरले भने पोखरा र जोमसोमको मौसम अनुकूल रहेकाले कन्ट्रोल टावरबाट उडान अनुमति पाएपछि बिहान सात बजेर ५० मिनेटमा उडेको विमान जोमसोम नपुग्दे सम्पर्कबिहीन भएको जनाएको छ ।
क्यानडाको भाइकिङ कम्पनीमा निर्मित अत्याधुनिक प्रविधि जडित विमान केही समयअघि मात्रै ल्याइएको पनि तारा एअरले जनाएको छ । इमेजखबरमा समाचार छ ।