भारतको मुम्बईमा एक व्यक्तिले परिवारका १४ सदस्यको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन् ।
भारतीय समाचार संस्था पिटीआईका अनुसार मुम्बई ठाणेका हसनैन वरेकरले गएराति परिवारका १४ सदस्यको घाँटी रेटेर हत्या गरी आफूले फाँसी लगाई आत्महत्या गरेका हुन् ।
हत्या गरिएकामा सात बालबालिका, छ महिला र एक पुरुष छन् । गम्भीर घाइते एक महिलालाई भने अस्पताल भर्ना गरिएको छ ।
हत्या पूर्व उनले शनिबार नै एक पार्टी आयोजना गरेकामा उनका सात दिदीबहिनी आफ्ना बच्चासहित उपस्थित थिए । पार्टीमा परिवारका अरु सदस्य पनि बोलाइएका थिए ।
हत्याको पछि पारिवारिक विवाद हुनसक्ने भएपनि कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । मुम्बईको एक निजी कर सल्लाहकार कम्पनीमा काम गर्ने हसनैनले मच्चाएको यस काण्डमा गम्भीर घाइते भएकी एक भाञ्जीको भने उपचार भइरहेको छ ।
सुरुमा पार्टी चलिरहेको घरमा राति एक बजेपछि एकाएक चित्कार सुनेपछि छिमेकीहरु भेला भएपनि ढोका नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो । कुनै नशालु पदार्थ मिलाएको खाना खुवाएर उनीहरुको घाँटी रेटी हत्या गरेको आशंका प्रहरीको छ । (एजेन्सी)