भारतको महाराष्ट्रमा गत वर्ष ३ हजार २ सय २८ किसानले आत्महत्या गरेको तथ्यांक सार्वजनिक

भारतको महाराष्ट्रमा गत वर्ष ३ हजार २ सय २८ किसानले आत्महत्या गरेको तथ्यांक सार्वजनिक भएको छ ।
भारतका केन्द्रीय कृषिमन्त्री राधामोहन सिंहले राज्यसभामा यो जानकारी दिएका हुन् । यो संख्या सन् २००१ पछिकै सबैभन्दा धेरै हो ।
अमरावती जिल्लामा ११ सय ७९ जना, औरंगावादमा ११ सय ३०, नासिकमा ४ सय ५९, नागपुरमा ३ सय ६२, पुणेमा ९६ जना र कोकणमा दुईजना किसानले आत्महत्या गरेका छन् ।
आत्महत्या गर्ने किसानमा १८ सय ४१ जना आश्रित मुआब्जाको हकदार रहेको पाइएको छ ।
आत्महत्या गर्ने १८ सय १८ जना किसानको प्रत्येक परिवारले एक लाख मुआब्जा बुझेको बताइएको छ ।
प्रतिकूल मौसमका कारण महाराष्ट्रमा खडेरीको संकट छ । केन्द्र सरकारले खडेरीसँग जुध्न ३ हजार करोडभन्दा बढी रकम विनियोजन गरेको छ ।
भारतमा खडेरीका कारण कृषि उत्पादनमा चर्को नोक्सानी बेहोर्नुपरेपछि किसानहरुले आत्महत्या गर्ने गरेका छन् । (एजेन्सी)