भारतको गुजरात राज्यमा आतंकवादी हमलाको खतरा भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ । महाशिवरात्रीका अवसरमा आतंकवादी हमला हुन सक्ने ठहरका साथ राज्यमा सुरक्षा व्यवस्था कडा तुल्याइएको हो ।
अधिकारीहरुका अनुसार मूख्य सहरमा नेशनल सेक्यूरिटी गार्ड (एनएसजी) का डफ्फा तैनाथ गरिएको छ । गुजरातका गृहराज्यमन्त्री रजनी पटेलका अनुसार एनएसजीका तीन समूह गुजरात पुगिसकेका छन् ।
गुजरातको अन्तर्राष्ट्रिय सीमाबाट केही संदिग्ध व्यक्ति घुसपैठ गरेको भन्ने सूचना शनिबार प्रकाशमा आएसँगै यस्तो सतर्कता अपनाइएको हो ।
अधिकारीहरुका अनुसार गुजरातको भुजस्थित तटबाट एक डुंगा बरामद भएको छ । उक्त डुंगामा संदिग्ध आतंकवादीहरु आएको सुरक्षा निकायको ठहर छ ।
पाकिस्तानकै सुरक्षा एजेन्सी एनएसएले समेत भारतीय सुरक्षा निकायलाई यसबारे सावधान तुल्याएको छ । एनएसएका अनुसार ८-१० जनाको संख्यामा आतंकवादीहरु भारत प्रवेश गरेर हिंसा फैलाउन सक्ने सम्भावना देखिएको छ । (एजेन्सी)