टर्की र यूरोपियन यूनियनका नेताहरु यूरोप प्रवेश गर्ने आप्रवासीहरुको भीड व्यवस्थापन गर्न सहमति

टर्की र यूरोपियन यूनियनका नेताहरुले यूरोप प्रवेश गर्ने आप्रवासीहरुको भीड व्यवस्थापन गर्न बृहद सिद्धान्तमा सहमति गरेका छन् ।
तर यो सहमतिको पूर्ण पाठलाई मार्च १७ मा टर्कीसँग हुने बैठकमा प्रस्तुत् गरिने छ । शरणार्थी समस्याको उपाय खोज्न बेल्जियमको ब्रसेल्समा बसेको आपतकालीन सम्मेलनमा यूरोपियन काउन्सिलका अध्यक्ष डोनाल्ड टस्कले अनियमित ढंगबाट ग्रीस पुगेका आप्रवासी टर्की फिर्ता गरिने बताए ।
सम्मेलनमा सहभागि नेताहरुबीच गैरकानुनी आप्रवासीको भीड रोक्न र त्यसको बदलतामा ईयूको थप सहयोग बढाउन टर्कीले प्रस्ताव राखेको थियो ।
टर्कीले आफ्नो इयु सदस्यता र नागरिकलाई भिसा विना यूरोप प्रवेश गर्ने बाटो खोल्न पनि माग गरेको छ । यूरोपेली मुलुकहरुले अहिले दोस्रो विश्व युद्धपछि कै ठूलो शरणार्थी संकट झेलिरहेका छन ।
धेरै जसो आप्रवासी टर्की हुँदै यूरोप छिर्ने गरेका छन् । टर्कीले अहिले २७ लाख शरणार्थीलाई आश्रय दिइरहेको छ । ईयूले शरणार्थीको मान्यता पाउन नसकेका आप्रवासीलाई  पनि आश्रय दिन आग्रह गरिरहे पनि यसको बदलामा ईयूले सहयोग रकम दोब्बर पार्नु पर्ने टर्कीको भनाई छ ।
ईयुले टर्कीलाई ३ अर्ब युरो सहयोग दिने प्रतिबद्धता जनाइसकेको छ । गतवर्ष गैरकानुनी रुपमा १० लाखभन्दा बढी आप्रवासी समुद्री मार्गबाट टर्की हुँदै यूरोप प्रवेश गरेका थिए ।
तर पछिल्लो समयमा करिब १३ हजार आप्रवासी म्यासेडोनिया र ग्रीसको सीमामा अलपत्र परेका छन् । मध्यपूर्वका द्वन्द्वग्रस्त मुलुकहरुबाट आप्रवासीहरु जोखिमपूर्ण समुद्री यात्राबाट टर्की हुँदै ग्रीस पुग्ने गरेका छन् । (एजेन्सी)