नवनिर्माण र पुनःनिर्माणको चर्चा चलिरहेका बेला गोरखाको लाप्राकका भूकम्प प्रभावितले आफ्नै मेहनतले गाउँ पुनःनिर्माण गरेका छन् ।
सरकारी र दातृ निकायले दिने भनेका राहत, अनुदानको बाटो नहेरी अर्मपर्म र ऋण खोजेर लाप्राकीले बर्खाको पानी छल्न नयाँ घर बनाएका हुन् ।
भूकम्पले ध्वस्त बनाएका पूराना घरका काठपात, ढुङ्गा र माटोको जोडाइले लाप्राकीले नयाँ घर उभ्याएका हुन् । गुप्सीपाखाको अस्थायी टहरोमा हिउँद कटाएका लाप्राकीले आउँदो बर्खा पुरानै लाप्राक गाउँमा बनाएको घरमा बिताउने तयारी गरेका छन् । मौसमअनुसारको खेती गर्न र उत्पादन भएका अन्नपात भित्र्याउन पनि लाप्राकीलाई घर चाहिएको थियो ।
अस्थायी आवास प्रयोजनका लागि सरकारले राहतमा दिएको जस्तापाताको प्रयोग नगरेका लाप्राकीले गोब्रेसल्लाको फलेकले घर छाएका छन् । राहतस्वरुप पाएको दुई बन्डल जस्तापाताले गुप्सीपाखाको टहरो छाएका उनीहरुले पुरानो गाउँमा जस्तापाताको प्रयोग गरेका छैनन् । भूकम्पअघि पर्यटकीय गाउँका रुपमा विकास भएको लाप्राकलाई पुनः त्यो साख फर्काउन मौलिकता झल्कने घरहरु बनाइएको स्थानीयवासीले बताए ।
लाप्राकीले बनाएका नयाँ घरमा सिमेन्टको प्रयोग गरिएको छैन । केही मानिस सिमेन्ट, बालुवा र छडको जोडाइले घर बनाउन चाहन्छन् । उनीहरुले अहिले घर बनाएका छैनन्, घडेरी नापजाँच गरेर राखेका छन् । ढुङ्गा, माटो र काठको जोडाइले नै भूकम्प प्रतिरोधी घर बनाउने गाउँलेको चाहना रहेको लाप्राक-२ का पुरबहादुर गुरुङको भनाइ छ ।
भत्केका घरको संरचना तह लगाइयो । बस्नयोग्य नयाँ घर बनाएँ, गुरुङले भने,