म्यानमारमा नयाँ राष्ट्रपति चयनको लागि प्रक्रिया सुरु भएको छ । जसअन्तर्गत प्रजातन्त्रवादी नेतृ आङसाङ सूचीको पार्टी नेशनल लीग फर डेमोक्रेसी एनएलडीका तर्फबाट दुई नेताको नाम अघि सारिएको छ ।
सैन्य नेतृत्वको संसद्ले नेतृ सूचीलाई राष्ट्रपति हुन नपाउने गरी संविधानमा संशोधन गरेकाले दुई वरिष्ठ नेतालाई पार्टीका तर्फबाट अघि सारिएको हो । जसमध्येका एक ह्तिन क्वावलाई मनोनयन गरिएको छ ।
एनएलडी नियन्त्रित संसद्ले क्वावलाई नै राष्ट्रपतिमा चुन्ने करिब निश्चित झै देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यद्यपी, सूचीलाई नै राष्ट्रपति बन्न दिने गरी संवैधानिक बाटो खुलाउन सकिन्छ कि भन्नेमा पनि प्रयासहरु भइरहेको वताइएको छ । सूचीले भने संविधानको अवरोधलाई ख्याल गर्दै आफू राष्ट्रपतिभन्दा माथि रहेको अभिव्यक्ति दिइसकेकी छिन् ।
एनएलडीले आफ्ना तर्फबाट नेता चुनेको केही दिनमै म्यानमारमा नयाँ राष्ट्रपति चुनिने पक्का छ । अर्का नेताका रुपमा हेन्री भान्ट्रिउको नाम पनि मनोनयन गरिएको छ ।
गत वर्ष गरिएको ऐतिहासिक निर्वाचनबाट सूची नेतृत्वको एनएलडीले गैरसैनिक सीटमा अत्यधिक बहुमत पाएको थियो । (एजेन्सी)