उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना वैज्ञानिकलाई थप परमाणु परीक्षणका लागि निर्देशन दिएका छन् ।
केही दिनअघि उत्तर कोरियाले गरेको परमाणु परीक्षणकाबारे अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेकै समयमा नेता किम जोङ उनले थप परीक्षणका लागि निर्देशन दिएको समाचार उत्तर कोरियाली समाचार संस्था केसीएनएलाई उद्धृत गर्दै रोयटर्सले जनाएको हो ।
उत्तर कोरियालाई परमाणु हतियार शक्ति सम्पन्न मुलुक बनाउनका लागि अझ परमाणु परीक्षण आवश्यक रहेको भन्दै उनले आफ्नै वैज्ञानिकलाई निर्देशन दिएको बताइएको छ ।
दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेकै समयमा उत्तर कोरियाले शक्ति प्रदर्शनलाई महत्व दिन थालेको हो ।
उत्तर कोरियाले परमाणु हतियारलाई सानो आकारमा विकसित गर्न सफलता प्राप्त गरेको दाबी गर्दै आएको छ । उक्त दाबी सत्य भएको खण्डमा त्यस्ता परमाणु हतियारलाई ब्यालेस्टिक मिसाइलमार्फत प्रयोग गर्न मिल्ने विज्ञहरु बताउँछन् । त्यो अवस्थामा दक्षिण कोरिया र अन्य छिमेकी मुलुकमात्र नभई अमेरिकाका लागि समेत खतरा हुने जानकारहरु बताउँछन् । (एजेन्सी)