पाकिस्तानलाई एफ-१६ लडाकु विमान बिक्रीमा रोक लगाउने प्रस्तावलाई अमेरिकी सिनेटद्धारा अस्वीकार

पाकिस्तानलाई एफ-१६ लडाकु विमान बिक्रीमा रोक लगाउने प्रस्तावलाई अमेरिकी सिनेटले अस्वीकार गरेको छ । सिनेटमा रहेका १ सय सदस्यमध्ये ७१ जनाले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने २४ जनाले पक्षमा मतदान गरेका छन् ।
सिनेटले नै पाकिस्तानलाई एफ-१६ लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेपछि राष्ट्रपति बाराक ओबामाले त्यसमा हस्ताक्षर गर्नेछन् । अमेरिकी प्रशासनले पाकिस्तानलाई लडाकु विमान बिक्री गर्न दिनुपर्ने अडान राख्दै आएको थियो । यसमा विदेशमन्त्री जोन केरीले पनि साथ दिँदै अमेरिकी कंग्रेसमा प्रस्ताव लगेका थिए ।
पाकिस्तानलाई लडाकु विमान बिक्रीमा रोक नलगाउने निर्णय गरेसँगै अमेरिकास्थित पाकिस्तानी राजदूत जलिल अब्बास जिलानीले यसलाई आतंकवादविरुद्ध अमेरिका र पाकिस्तानको साझेदारीको नमूना भएको बताए ।
उनले यो निर्णयले अमेरिका र पाकिस्तानबीचको सम्बन्ध थप मजबुत हुने बताए । लडाकु विमान बिक्रीको विपक्षमा रहेका सिनेटर रेड पालले भने पाकिस्तानका विरुद्ध कडा बयान दिएका थिए । (एजेन्सी)