पुनर्निर्माण सरकारी अनुदानको पहिलो किस्ता यही फागुन ३० गते दोलखाबाट वितरण गर्ने तयारी भएको छ । पुनर्निर्माण प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले सर्वेक्षण सकिएका ठाउँमा अनुदान वितरण थाल्ने मापदण्डअनुसार दोलखाको सिँगटीबाट पहिलो किस्ता अनुदान वितरण सुरु गरिने बताए ।
उनले रकम वितरणका लागि स्थानीय विकास मन्त्रालयलाई २६ करोड रुपैयाँ निकासा दिइसकेको जनाए ।
उक्त रकम शुक्रबारसम्म जिविस दोलखामा पुग्ने र आइतबार पहिलो किस्ता वितरण गर्ने प्राधिकरणको योजना छ । सरकारी प्रक्रियाका कारण शुक्रबार रकम जिविसमा पुग्न नसके कार्यतालिका सर्नेछ । प्राधिकरणले पूर्णरूपमा घर क्षति भएकालाई पहिलो किस्ताअन्तर्गत ५० हजार रुपैयाँ वितरण गर्नेछ ।
त्यसका लागि सिँगटीलाई केन्द्रित गरेर स्रोत केन्द्र स्थापना र भूकम्पपीडितको बैंक खाता खोल्ने काम जारी छ ।
यसअघि प्राधिकरणले दुई पटक सिँगटीमा अनुदान वितरण गर्ने मिति घोषणा गरेको थियो । सुरुमा यसै महिनाको १२ गते र पछि २० गते भनिए पनि वितरण हुन सकेन । घर पूर्ण क्षति भएका परिवारलाई अनुदान उपलब्ध गराउन ६५ अर्ब रुपैयाँ सरकारले प्राधिकरणलाई निकासा दिइसकेको छ । अर्थले दुई साताअघि उक्त रकम निकासा दिएको हो ।
‘सोही रकमभित्रबाट स्थानीय विकास मन्त्रालयलाई बिहीबार निकासा दिइएको हो,’ अधिकारीले भने,