राष्ट्रिय पुनर्निर्माण अभियानको थालनी दोलखाको सिंगटीबाट

 वैशाख १२ को भूकम्पले भग्नावशेष बनाएको दोलखाको सिंगटीबाट राष्ट्रिय पुनर्निर्माण अभियान थालनी गरिँदैछ ।
अभियान सुरु गर्दै आज पहिलो दिन जिल्ला विकास समिति दोलखा र सिंगटीमा सेवा प्रदान गर्ने बैंकबीच सम्झौता गरिने राष्ट्रिय पुनर्निर्माण प्राधीकरणले जनाएको छ ।
सिंगटी क्षेत्रका भूकम्प पीडितलाई अनुदान रकम वितरण गर्न आज प्रक्रिया थालिने र जिविस र बैंकबीच सम्झौता भएपछि एक हप्ताभित्र बैंकमा खाता खोलेका भूकम्प पीडितलाई अनुदान बापतको पहिलो किस्ता ५० हजार रुपैयाँ उपलब्ध गराइने प्राधीकरणका सहप्रवक्ता भिष्म भुसालले जानकारी दिएका छन् ।
बैंकमा खाता खोल्दा भूकम्प पीडितले नागरिकताको प्रमाणपत्र र जग्गाधनीको पूर्जा अनिवार्य बुझाउनु पर्ने तथा भूकम्प प्रतिरोधी घर नै बनाउने सम्झौता गर्नु पर्ने व्यवस्था गरिएको छ ।
यो सम्झौतापछि मात्रै पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पीडितले पाउने छन् । दोलखाको गौरीशंकर र लामाबगर बाहेक अरु ठाउँमा भूकम्प पीडितको तथ्यांक संकलनको काम सकिएकाले छिट्टै अनुदान रकम वितरण गरिने भुसालले जानकारी दिए ।
भूकम्प प्रभावित काठमाडौं उपत्यकाबाहेक अरु जिल्लामा पनि अबको एक महिनामा पीडितको वास्तविक तथ्यांक संकलनको काम सक्ने प्राधीकरणको तयारी छ । इमेजखबरमा समाचार छ ।