टर्कीको राजधानी अंकारामा गराइएको शक्तिशाली कार बम विस्फोटमा ३४ जनाको मृत्यु भएको छ ।
व्यापारिक क्षेत्रमा भएको विस्फोटमा अन्य एक सयभन्दा बढी घाइते भएका छन् । घटनास्थलमै ३० जना र अन्य चार जनाको उपचारका क्रममा मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
किजिलाई जिल्लाको जुवेन पार्क नजिकको व्यस्त बजारमा विस्फोट भएको हो । विस्फोटमा परी धेरै सवारी साधनमा क्षति पुगेको छ । घटनालगत्तै अर्को आक्रमण हुनसक्ने आशंकामा त्यो क्षेत्र खाली गराएको थियो ।
उद्दारकर्मी तथा एम्बुलेन्स घाइतेको उद्दार तथा उपचार व्यवस्था मिलाउन सक्रिय पारिएको छ । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले सुरक्षा अधिकारीलाई उदृत गर्दै आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टी वा त्यससँग सम्बद्ध समूह संलग्न भएको जनाएका छन् ।
राष्ट्रपति रिसेप ताइपे एरडोगानले आक्रमणकारीले सैनिकसँग संघर्ष गर्ने क्षमता नभएर सर्वसाधारण नागरिकलाई निशाना बनाएको भन्दै घटनाको निन्दा गरेका छन् । आक्रमणबाट आफूहरु कमजोर हुनुभन्दा पनि आतंककारीविरुद्धको आक्रमणलाई थप बलियो बनाउने उनले बताए ।
गत महिना अंकारामै सैनिक बसमा बम आक्रमण हुँदा २८ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।(एजेन्सी)