सन्धिखर्कमा बुलन्द राष्ट्रिय पाक्षिकको बिमोचन, सञ्चार माध्यम प्रति सबै सकारात्मक रहनुपर्नेमा सरोकारवालाको जोड

बिष्णु ठकुरी ‘रानी’

सन्धिखर्क, अर्घाखाँची ।  छापा तथा बिद्युतिय सञ्चार माध्यमको प्रभावकारीता तथा गुणस्तरियताका लागि सबै पक्ष सकारात्मक बन्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन ।


सञ्चार माध्यम र बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुबीच गहिरो सम्बन्ध हुने भन्दै सहभागीले सो कुरा बताएका हुन । बुलन्द राष्ट्रिय पाक्षिकले सन्धिखर्कमा आयोजना गरेको – जिल्लाका सञ्चार माध्यमहरुको अवस्था, स्थायित्व तथा प्रभावकारीताको लागि सरोकारवालाको भूमिका- बिषयक अन्र्तक्रिया तथा बुलन्द राष्ट्रिय पाक्षिकको बिमोचन कार्यक्रममा बोल्ने बक्ताहरुले सञ्चार माध्यम प्रति अपनत्व हुनु पर्ने कुरामा जोड दिएका हुन । छापा सञ्चार माध्यमले आफ्नो प्रकाशनलाई निरन्तरता साथै प्रभावकारीता समेत दिनुपर्ने भन्दै सहभागीले सञ्चार माध्यमको भूमिका सामाजिक सचेतिकरणमा अहम हुने बताएका थिए । 

 कार्यक्रममा बुलन्द राष्ट्रिय पाक्षिकको बिमोचन गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सञ्चार माध्यमको प्रभावकारीता तथा स्थायित्वका लागि सरकारी कार्यालयलाई आश्यक सहयोग गर्न निर्देशन दिने बताउनुभयो । उहाँले पत्रिकाको निरन्तरताको शुभकामना दिँदै सञ्चार माध्यमको भूमिकाको चर्चा गर्नुभयो । उहाँले सबै निकायको उत्तिकै चासो हुनु पर्नेमा पनि जोड दिनुभयो ।  

 त्यस्तै स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले श्रोत साधनको अभावमा प्रयाप्त सहयोग नभए पनि सम्भव भए जत्ति सहयोग सञ्चार माध्यमलाई उपलब्ध गराउने बताउनुभयो । गौतमले सञ्चार माध्यमले समाजका सत्यतथ्य तथा सकारात्मक कुराहरुलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिनुभयो । 

 कार्यक्रममा बुलन्द राष्ट्रिय पाक्षिकका संस्थापक प्रकाशक तथा सम्पादक रामबहादुर चौहानले पत्रिकाको निरन्तर सफलताको शुभकामना दिदै गुणस्तरिय तथा स्तरियतामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रिकाको स्थापना चरणको स्मरण गर्दै खोजमुलक सामग्री लेखन तथा सम्पादमा जोड दिनुभयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, सम्पूर्ण राजनीतिक दलको तर्फबाट एनेकपा माओबादीका जिल्ला उपाध्यक्ष ठाकुरकुमार बिक किशोर, सम्पूर्ण पेशागत पत्रकार संगठनको तर्फबाट प्रेश युनियनका सूर्यप्रसाद भुसाल, रेडियो पत्रकार समन्वय समितिका अध्यक्ष तथा रेडियो सूर्योदयका स्टेशन म्यानेजर हृदयकुमार भुसाल, छापा सञ्चार माध्यमको तर्फबाट अर्घाखाँची टाईम्सका नबीन केसी तथा पत्रकार सहयोगी बिसीले समेत पत्रिकाको सफलताको शुभकामना दिदै प्रभावकारी तथा गुणस्तरीयतामा जोड दिनुभएको थियो । 

कार्यक्रममा प्रकाशक तथा सम्पादक श्रेष्ठले सुझाव सल्लाहलाई  ग्रहण गर्दै निरन्तर रुपमा प्रकाशन गर्दै जाने बताउनु भएको थियो । कार्यक्रम उपसम्पादक अम्बिको श्रेष्ठको सञ्चालन र बसन्त श्रेष्ठको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । बिगत १२ वर्ष देखि प्रकाशन भएको पत्रिकाको प्रकाशक तथा सम्पादकमा बसन्त श्रेष्ठ, सहसम्पादकमा अशोक चौहान, संरक्षकमा रामबहादुर चौहान, निर्देशकमा सिद्धार्थ केसी, उपसम्पादका अम्बिका श्रेष्ठ र कार्यकारी सम्पादकमा बिष्ण ठकुरी रहनुभएको छ ।