क्यामरुनद्धारा बोको हरामका ८९ जना सदस्यलाई मृत्युदण्ड दिने निर्णय

क्यामरुनले नाइजेरियाका इस्लामिक संगठन बोको हरामका ८९ जना सदस्यलाई मृत्युदण्ड दिने निर्णय गरेको छ ।
क्यामरुन र नाइजेरियाको सीमा क्षेत्रमा चरमपन्थी गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय दिने निर्णय भएको बताइएको छ । बोको हरामसँग सम्बन्ध भएको आरोपमा क्यामरुनमा ८५० जना पक्राउ परेका थिए ।
उनीहरुमध्ये ८९ जनालाई मृत्युदण्डको सजाय तोकिएको हो । क्यामरुनमा सन् २०१४ मा पारित भएको चरमपन्थी विरोधी कानुनले मृत्युदण्डको सजाय राखेको थियो । कानुन बनेपछि पहिलो पटक चरमपन्थीहरुलाई मृत्युदण्डको सजाय तोकिएको हो । 
मृत्युदण्डको सजाय तोकिएपछि स्थानीय मानवअधिकारवादी संस्थाले भने क्यामरुनको न्यायिक व्यवस्थामा सुधारको माग गरेका छन् । (एजेन्सी)