प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको साङ्सी प्रान्त र सियान सहरका व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।
शुक्रबार साङ्ग्रिला होटलमा सिसिपिआइटीको साङ्सी उपपरिषद्का अध्यक्ष झाओ रुनमिनले संयोजन गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको बताएका हुन्।
ओलीले भने,साङ्सी प्रान्तको राजधानी सियान प्राचीन रेशम मार्गको उद्गम स्थल हो। अहिले यसको आधुनिकीकरण गर्न यही जन्मनुभएका चिनियाँ राष्ट्रपति सि जिनपिङले नेतृत्व गर्नुभएको एक क्षेत्र एक मार्ग अभियानबाट नेपाल पनि लाभान्वित हुन चाहेको छ।
यस क्षेत्रले एसियालाई अफ्रिका र युरोपसँग जोड्दै आएको र अन्तर्राष्ट्रिय व्यापारलाई आधुनिकीकरण गर्न सघाउँदै आएको बताउँदै उनले चिनियाँ समुदाय र व्यापारीबीच यस विषयमा विचार आदानप्रदान गर्न पाएर आफू खुसी भएको बताए।
नेपाल र चीनबीच युगौँ पुरानो सम्बन्ध रहेको र दुईबीच कुनै समस्या नभएको पनि उनले उल्लेख गरे। ‘चीनको प्रगतिबाट हामी ज्यादै खुसी छौँ, हामी यसबाट लाभ लिन चाहन्छौँ,’ प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले नेपालमा उदार अर्थतन्त्र भएको, कानुनी तथा प्रशासनिक प्रक्रियालाई सरल बनाइएको, लाभांशमा आयकर नलाग्ने व्यवस्था गरिएको र दुवैतर्फका छिमेकमा ठूला बजार विद्यमान रहेकाले नेपालमा लगानी गरेर व्यवसायीले फाइदा उठाउन सक्ने बताए।