अर्घाखाँचीमा सप्ताहव्यापी मासु कार्यक्रम ! सन्धिखर्कमा मात्र वर्षमा ४ लाख ३२ हजार २ सय किलो मासु बिक्री, ५६ करोड ५८ लाख भन्दा बढीको कारोबार

सन्धिखर्क, अर्घाखाँची (वीरेन्द्र के.सी, अर्घाखाँचीडट्कम)।  स्वच्छ, स्वस्थ मासु उत्पादन तथा उपयोग गरौ भन्ने मुल नाराका साथ अर्घाखाँची जिल्लाको सन्धिखर्कमा सप्ताहव्यापी कार्यक्रम शुरु भएको छ । 
जिल्ला मासु व्यबसायी संघ अर्घाखाँचीको आयोजनामा शुरु भएको कार्यक्रममा सन्धिखर्कमा -र्यालीको समेत निकालिएको थियो । -र्यालीमा विभिन्न संघ सस्था, कार्यालय, विधार्थीहरु लगायत सरोकारवालाको उपस्थिती रहेको थियो । 
कार्यक्रम चैत्र १४ देखि २० गते सम्म चल्ने छ । 
अर्घाखाँचीमा मासु उत्पादनसँगै खपत बढ्यो, कृषक उत्साहित 
अर्घाखाँची जिल्लामा मासु उत्पादनसँगै खपत पनि बढेको छ । मासुको माग अत्यधिक भएपछि खसीबोका, कुखुरा, बंगुर र राँगो पाल्ने कृषक उत्साहित भएका छन् । मासुको खपत दैनिकजसो बढिरहेको व्यवसायी बताउँछन् । 
सदरमुकामको बजारमा वार्षिक करोडौंको मासुको कारोबार हुने गरेको छ । सन्धिखर्क र चुत्राबेंसीमा वर्षमा कुखुरा, खसीबोका, माछा, बंगुर, राँगोको मासुबाट ५६ करोड ५८ लाख ४० हजार रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको मासु व्यवसायी संघका सचिव रामु केसीले बताए । सदरमुकामको करिब ३० हजार जनसंख्याको मासुमा यो रकम खर्च हुने गरेको छ । 
सदरमुकाममा ४ लाख ३२ हजार २ सय किलो मासु बिक्री हुन्छ,’ केसीले भने, ‘जसबाट वर्षमा १३ करोड ३८ लाख २४ हजार रुपैयाँको कारोबार हुने गरेको छ ।’ खसीबोकाको मासु वर्षमा ७२ हजार किलो खपत हुन्छ । जसबाट ३९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै राँगो वार्षिक ९० हजार किलो खपतबाट १ करोड ७१ लाख रुपैयाँको कारोबार हुन्छ । माछा वर्षमा ३६ हजार किलो खपतबाट १ करोड १५ लाख २० हजारको कारोबार हुने गरेको छ । योसँगै बंगुर पनि बिक्री हुन्छ । 
वर्षमा १० हजार किलो बिक्रीबाट ३० लाख २४ हजारको कारोबार भएको केसीले बताए । जाडो सिजनमा माछा जिल्ला बाहिरबाट आएको छ । 
कुखुरा, पाडा, खसीबोका, बंगुर जिल्लामै उत्पादन भएको छ । मासुमा जिल्ला आत्मनिर्भर छ । कुखुरापालनबाट मनग्य आम्दानी भएपछि विदेश जाने भिसा रद्द गर्दै धेरै युवा यतातिर लागेका छन् । ३ वर्ष कतारमा रोजगारी गरी फर्किएका बाँगीका लक्ष्मण महतले सदरमुकाममै कुखुरा पालेर वर्षमा ५ लाख रुपैयाँ आम्दानी गरेका छन् । तराईका जिल्लामा समेत खसीबोका निर्यात हुने गरेको छ । अण्डा केही मात्रमा बाहिरबाट आयात भएको छ । 
बजारमा कुखुराको मासु किलोको ३ सय २०, खसीबोकाको किलोको ५ सय ५०, राँगाको १ सय ९०, माछाको ३ सय २० र बंगुरको २ सय ८० रुपैयाँ बिक्री भइरहेको छ । मासुका लागि पशुपालन र मासु कटानमा धेरैले रोजगार पाएका छन् । १० वर्षदेखि चुत्राबेंसीमा कुखुराको मासु बिक्री गर्दै आएकी टन्डन फ्रेस हाउसकी सञ्चालक मुना टन्डनले दैनिक १ सय किलो मासु बिक्री गर्छिन् । उनकामा ६ जनाले रोजगारी पाएका छन् । गाउँमा टोलैपिच्छे ब्रोइलर कुखुरा फर्म खोल्नेको लहर चलेको छ । 
मासुका लागि चल्ला चितवन र बुटवलबाट ल्याइन्छ । ‘मासुका लागि अर्घाखाँची आत्मनिर्भर छ,’ वरिष्ठ पशु विकास अधिकृत रामनारायण मण्डलले भने, ‘उन्नत जातका खसीबोका, पाडा, कुखुरा पाल्नका लागि फर्म दर्ता गर्नेलाई अनुदान दिएपछि उत्पादन ह्वात्तै बढ्यो ।’