अफगानिस्तानको संसद भवनमा आतंकवादी हमला

अफगानिस्तानको संसद भवनमा आतंकवादी हमला भएको छ । सोमबार संसद भवनमा कम्तीमा चारवटा रकेट आक्रमण भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
तीन रकेट संसद परिसरमा खसेको र एउटा रकेट संसद भवनमै खसेको जनाइएको छ । सो हमलाबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
अफगानिस्तानका पत्रकार कादिर हबिबका अनुसार हमलाको जिम्मेवारी तालिवानले लिएको छ । हमलामा एक प्रहरीको मृत्यु भएको जनाइएको छ । 
अफगानिस्तानको नयाँ संसद भवन भारत सरकारको सहयोगमा बनाइएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष संसद भवन हस्तान्तरण गरेका थिए ।
अफगान संसदमा भएको आतंकवादी हमला यो पहिलो पटक भने होइन । सन् २०१५, जुन महिनामा पनि तालिवानले संसद भवनलाई निशाना बनाएका थिए । (एजेन्सी)