प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १/२ महिनामा गर्नुपर्ने काम एक वर्षमा पनि नसकिएको बताए ।
यही गतिमा काम भएमा एक दशकसम्म पनि पुनर्निर्माणको काम नहुने प्रधानमन्त्री ओलीको भनाई छ । प्राधिकरणले गरेका कामलाई दैनिक रुपमा सार्वजनिक गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले संकटका बेलामा ऐन हेरेर काम गर्नुभन्दा पनि व्यवहारिक रुपमा काम गर्नुपर्ने र त्यही अनुसारको ऐन बनाउनुपर्ने बताए । उनले २/४ हजार तलमाथी हुन्छ की भनेर काम गर्न नडराउन भन्दै यो बेलामा पनि लापरबाही गर्ने जो कोहीलाई माफी नदिने चेतावनी दिए ।
कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको सर्भे गर्ने ८० प्रतिशत काम सकिएको दाबी गरे ।
उनले भूकम्प प्रभावित क्षेत्रमा १६ सय इन्जिनियर पठाइ सकिएको भन्दै चैत २१ गतेसम्म सबैतिर रकम वितरणको प्रक्रिया सुरु गरिसक्ने जानकारी दिए ।
भूकम्प प्रभावितलाई घर बनाउने रकम दिने सम्झौता गाविस सचिवहरु मार्फत् गरिने उनको भनाइ थियो । इमेजखबरमा समाचार छ ।