नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आज विभिन्न कार्यक्रम गरी ६१ औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा महासंघ केन्द्रीय समितिले राजधानीको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिबाटिकासम्म प्रभातफेरीको आयोजना गर्यो ।
कार्यक्रमको समापनमा महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले विगतको गौरवलाई स्मरण गर्दै महासंघले श्रमजीवी पत्रकारको हकहित, पेशागत तथा भौतिक सुरक्षा र महासंघको पुनर्संरचनामा आफूलाई केन्द्रित गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका पूर्वसभापति हरिहर विरहीले पत्रकार महासंघले पत्रकारिता सँगसँगै लोकतन्त्रको संस्थागत विकास र राष्ट्र निर्माणका मुद्दामा पनि सशक्त भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
महासंघका देशभरका शाखाहरुले पनि प्रभातफेरीसहित विविध कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् । महासंघले बुधबार पत्रकार र राजनीतिकर्मीबीच काठमाडौंको दशरथ रंगशालामा मैत्रीपूर्ण खेल आयोजना गर्ने जनाएको छ ।
यसैबीच हिजो सम्पन्न महासंघ केन्द्रीय समितिको बैठकले महासंघको केन्द्रीय साधारणसभा आगामी वैशाख २१ गते चितवनमा गर्ने निर्णय गरेको छ । इमेजखबरमा समाचार छ ।