सिद्वारा, अर्घाखाँची ( अर्घाखाँची डट्कम) । अर्घाखाँची जिल्लाको सिद्वारा -५ मौबारीमा पशु चौपायामा खोरेत अर्थात् बजहा रोगको महामारी फैलिएको छ ।
विगत दश दिनदेखि सिद्वाराको मौबारी लगायतका गाउँमा गाई, भैँसी, बाछाबाछीहरूमा यो रोगको प्रकोप देखापरेको हो।
जिल्ला पशु सेवा कार्यालयबाट तत्काल भ्याक्सिन सहित आएको तीन जनाको उपचार टोलीले ३,४ दिन अगाडि देखि गाईभैंसीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउने कार्य शुरु गरेको छ । जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीको सहयोग प्राग अर्घाखाँचीको सकृतयामा प्राबिधिक सम्योजक प्रेम लाल भुसाल, केभ बाबुराम अचार्य र सामुदायिक सहजकर्ता केशब राज बेल्बासेको टोली उपचारमा खटिरहेको हो।
अहिले सम्म कुनै पनि पशु चौपाया मरेका भने छैनन भने बाख्रामा अझै देखा नपरेको सामुदायिक सहजकर्ता केशब राज बेल्बासेले अर्घाखाँची डट्कमलाई बताए । यो रोग अन्य गाबिसमा पनि फैलन सक्ने हुँदा स्थानिय सरोकारवाला चनाखो हुनुपर्ने उनको भनाई छ ।
कपिलवस्तुको चमेर लगायतका क्षेत्रमा देखा परेको यो रोग पछि सिद्वाराका मसुरे लगायतका सिमा क्षेत्रमा फैलिएको बुझिएको छ । खोरेत रोगले सिद्वाराको पुर्व क्षेत्रमा भन्दा पश्चिम क्षेत्रमा बढी प्रभाव पर्ने सक्ने अनुमान जिल्ला पशु सेवा कार्यालयले गरेको छ ।
केशब राज बेल्बासेका अनुसार खोरेत एक प्रकारको पशुहरूलाई लाग्ने सरुवा पशुरोग हो। यो रोग लागेमा पशुहरूको खुर पाक्ने भएकोले यस रोगको नाम खोरेत रोग अथवा खुरको रोग पर्न गएको हो। यो रोग खास गरेर घरमा पालिने जनावर गाई, भैंसी, भेडाबाख्रा वा बंगुर लगायत आदीलाई लाग्दछ। खोरेत रोग लागेपछि पशुलाई उच्च ज्वरो आउने, मुखबाट -याल निकाल्ने, गिँजा सुन्नीने, मुखमा घाउ खटिरा देखिने खुर सुन्निने, खुरमा घाउ आउने घाँस नखाने लक्षणहरू देखा पर्दछ । यो रोगले खुरफट्टा पशुका कम उमेर समुहका पडापाडी, बाच्छावाच्छी र पाठापाठीलाई छिटो संक्रमण गर्ने र तत्काल मृत्यु हुने र माउ पशु बच्चाको तुलनामा अलि ढिलो सम्म बाँच्ने गर्छन् । यदी खोरेत रोगको बेलैमा ध्यान पुगाउन न सकेमा खोरेत रोग लागेको पशु मर्न पनि सक्छ।
सिद्वारा । तस्बिर/ फेसबूक फाइल
खोरेत कस्तो रोग हो ?
खोरेत वास्तबमा एक प्रकारको भाईरसबाट लाग्ने रोग हो । यो खास गरेर खुर भएको जनावर, मुखमा पनि यसको लक्षण हुन्छ खुट्टामा पनि यसको लक्षण हुन्छ ।
यो रोग लागेपछि पशुहरुमा कस्तो खालको लक्षण देखापर्छ ?
एउटा त खुट्टामा दुईवटा खुरको बिचको छालाहरु कुहिएर जान्छ । कतिपयमा त खुरनैं कुहिएर जान्छ । सुरुको अवस्थामा मुखबाट र्याल आउनु र मुख भित्र जिब्रोमा घाउ हुन्छ जसबाट जनावरहरु राम्रोसँग खाना खान सक्दैन । खाना नखाने लक्षण त अरु रोगमा पनि हुन्छ । तर खास यसमा के हो भने जिब्रोमा घाउ आएपछि र खुट्टामा पनि घाउ देखिएपछि किसानहरुले सहजै अनुमान लगाउन सक्नुहुन्छ खोरेत हो भनेर ।
रोग देखापरेमा किसानहरुले के गर्ने ?
सबभन्दा पहिला त किसानसँग मेरो विनम्र निवेदन के छ भने आफ्नो जनावरलाई आफ्नो गोठभन्दा बाहिर लानुभएन । किनभने यो सरुवा रोग हो अरु जनावरलाई पनि सर्नसक्छ । मुख र खुट्टामा घाउ देखिईसकेपछि फिट्किरि पानीले मुख र खुट्टालाई सफा गर्ने । सम्भव भएसम्म ओभानो राख्ने । अर्को भनेको खानेकुरा पनि सहजै पच्ने खालका दिनुपर्यो ।
जस्तै जाउलो, दालको पानी आदी । र, अरु मान्छेलाई पनि आफ्नो गोठभित्र आउन नदिने । यो भनेको जैविक सुरक्षाका उपायहरु अपनाउनुपर्यो । एकठाउँबाट अर्को ठाउँमा रोग नरोस भनेर किसानले उपाय अपनाउनुपर्छ । यस्तै एन्टिसेफ्टिका मलमहरु बजारमा उपलब्ध छ । ति मलमहरु प्रयाग गर्नुप-यो जसले गर्दा घाउमा किरा पर्न नसकोस् ।
खोरेत नियन्त्रण गर्न किन कठिन मानिन्छ ?
निश्चित रुपमा, खोरेत नियन्त्रणका लागि एउटा गोठबाट अर्को गोठमा जान नदिनुनैं सबभन्दा ठुलो चुनौती हो । जैविक सुरक्षाका उपायहरु र फिट्किरि पानीले सफा गरियो भने रोग नियन्त्रण गर्न सजिलो हुन्छ । यसको खोप पनि हुन्छ, त्यो खोप बर्षमा दुईपटक लगाउनुपर्ने हुन्छ । हाम्रो देशमा खोप बन्दैन त्यसैले सहजै रुपमा किसानलाई खोप उपलब्ध छैन । जसले गर्दा यो रोग नियन्त्रण गर्न कठिनाई भैराखेको छ ।
सिद्वारा । तस्बिर/ फेसबूक फाइल