भारतको छत्तीसगढमा एक महिलाले एकै पटक पाँच छोरी जन्माइन्

भारतको छत्तीसगढमा एक महिलाले आधा घण्टाको अन्तरालमा पाँच सन्तानलाई जन्म दिएकी छन् । सरगुजा जिल्लाको बिनकारा गाउँ निवासी ती महिलाले एक सरकारी अस्पतालमा एकै पटक पाँच छोरी जन्माएकी हुन् ।
२३ वर्षीया मनिता राजवाडेले एकैपटक पाँच छोरी जन्माएकी हुन् । अस्पताल स्रोतका अनुसार सुत्केरी महिला र पाँचवटै बच्चाको स्वास्थ्य स्थिर छ । अस्पतालका चिकित्सक एन के पाण्डेयले भने, समय अघि नै बच्चाको जन्म भए पनि सबैको स्वास्थ्य सामान्य छ । यद्यपि पाँचवटै बच्चाको वजन भने कम रहेको उनले बताए ।
डा. पाण्डेयका अनुसार सामान्यतया ९ महिनामा जन्मिएका शिशुको औसत वजन २.५ किलो हुन्छ तर मनिताले ७ महिना मै पाँच शिशु जन्माइन् । सबै शिशुको वजन एक देखि १.५ किलो छ । पाँच वटै शिशुलाई सघन चिकित्सा कक्षमा राखेर चिकित्सकहरुले निगरानी गरिरहेका छन् ।
मनिताले दुई वर्ष अघि पहिलो सन्तानका रुपमा छोरा जन्माएकी थिइन् । तर जन्मिएको केही समयमै शिशुको मृत्यु भएको थियो । एकै पटक पाँच सन्तान पाएकोमा मनिताका पति मनिषले भने, भगवानले मलाई एकै पटक पाँच सन्तान दिनुभएकोमा धन्य भएको छु । उनले सबै स्वस्थ्य हुने र उनीहरुलाई आफूले सुन्दर भविष्य दिन प्रयास गर्ने बताए । (एजेन्सी)