पुस्तौंदेखि प्रयोग गर्दै आएको पानीको मूल सुकेपछि मुगुको रारा गाविस मुर्मा गाउँका बासिन्दा चर्को समस्यामा छन् । करिब ७० घरधुरी रहेको यो गाउँका बासिन्दालाई खानेकुराको भन्दा पनि पिउने पानीको पिरलो छ । कान्तिपुरमा समाचार छ ।
गाउँलेले पालो लगाएर एक घरलाई एक गाग्री पानी भाग लगाउने गरेका छन् । त्यति पानी लिन पनि रातभर जाग्राम बस्नुपर्छ । कहिल्यै नसुकेको पानीको मुहान पनि यस पटक सुके । गाउँ नै काकाकुल भएको छ, स्थानीय धनसिंह रोकायाले भने ।
रुगा गाविसका डेढ सय दलित परिवारलाई पनि पानीको संकट उत्तिकै छ । गाउँदेखि आधा घण्टा टाढाको कुवा सुक्न थालेपछि एक गाग्री पानी पाउन पनि मुस्किल हुन थालेको छ ।
कुवामा पानी भर्न रुगा गाउँका बासिन्दा लाइनमा बस्नुपर्ने अवस्था छ । दिउँसो पालो नपाए रातभर कुवामै बसेर पानी भर्ने गर्छन् । ज्यालादारी काम गरेर भए पनि चामल किनेर खाउँला । तर पानी कहाँबाट ल्याउने ? रुगा गाविसकी जउकली कामीले भनिन्, अनाजभन्दा पानी पाउन गाह्रो हुन थाल्यो ।
जिमा गाविसको सोरुकोट र बन्जाह गाउँका करिब दुई सय परिवारलाई पानीको उस्तै दु:ख छ । खडेरीका कारण दिउँसो धारोमा पानी आउँदैन । राति थोरै आउँछ । त्यो पनि हारालुछ हुन्छ । सोरुकोट गाउँका बासिन्दा हातमा जर्किन बोकेर आधा घण्टा तल तिर्सेखोलामा पुगेर पानी ल्याउने गरेका छन् । बन्जाह गाउँमा रातभर जाग्राम बसेर एक गाग्री पानी भर्नुपरेको छ ।
हामीलाई भोकमरी परेको भन्दा पनि संकट भयो, बन्जाह गाउँकी पुनी मल्लले भनिन्, खडेरीले औलदेखि लेकसम्मका पानीका मुहान सुकिसके । एक गाग्री पानी पाउन पनि गाह्रो हुन थाल्यो । मुगुमा लामो खडेरीले परम्परागत पानीका मुहान सुकेपछि गाउँ छाडेर अन्यत्र सर्नुपर्ने अवस्था आउन थालेको छ ।
जिमा गाविसको ख्याल्च गाउँमा पनि पानीको उस्तै समस्या छ । करिब ८० घरधुरी रहेको उक्त गाउँको पुरानो मुहान सुकेपछि पानीको हाहाकार मच्चिएको छ । आधा घण्टा टाढा पुगेर पानी ल्याउनुपर्ने अवस्था आएपछि ख्याल्च गाउँका बासिन्दा चिन्तित छन् । फोतु गाविस सोडडाका ४५ घरधुरी पनि यही पीडामा छन् ।
खडेरीले गाउँका पुराना सबै साना मूल सुकिसुके, रुगा सुम्ली गाउँका ७२ वर्षीय धने भण्डारीले भने, यस्तै हो भने अब कर्णालीको छेउमा गएर बस्नुपर्ने अवस्था आइसक्यो । समुद्र सतहदेखि करिब २९ सय मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारातालमा मिसिने करिब ६२ वटा पानीका मुहान खडेरीले सुकेपछि इतिहासमै पहिलो पटक ताल आधा मिटर घटेको छ ।
रारा राष्ट्रिय निकुञ्ज संरक्षण निमित्त अधिकृत गोपाल खत्रीले ठूलो खडेरीले पानीका मुहान सुकेपछि तालको पानी आधा मिटर घटेको बताए ।
रारा तालको निकास खत्याड खोला पनि सुकेको छ ।
रारा तालको पानी घटेपछि कार्कीबाडा गाविसको लेकबस्तीका पानीका आधा दर्जनभन्दा बढी मुहान सुकेका छन् । लेकाली बस्तीका बासिन्दालाई पानी जोहो गर्नै मुस्किल भएको छ । मुगुका २४ वटै गाविसमा करिब २ सय पानीका मुहान सुकेका छन् ।
यसको असर मानव, चौपाय, वन्यजन्तु र चराचुरुंगीलाई परेको छ । सरकारी तथा गैरसरकारी स्तरबाट निर्माणाधीन खानेपानी आयोजनासमेत प्रभावित भएका छन् । निर्माणको तयारीमा रहेका आयोजना रोक्नुपर्ने अवस्था आएको छ ।
पानी नपर्दा डोल्पामा पनि मुहान सुकेर खानेपानीको हाहाकार भएको छ । मूल सुक्दै गएपछि सर्मी गाविस ४, ५ र ६ का २ सय घरधुरी र त्रिपुराकोट ७ र ८ का डेढ सय घरधुरीका बासिन्दाले प्रयोग गर्दै आएको पानीका मूल सुकेका छन् । अहिले अलिअलि आउने धारामा भीड लाग्ने गरेको छ ।
त्रिपुराकोटको रसी र सर्मीको ओक्ट गाउँमा पनि खानेपानीको समस्या छ । सर्मीको ओक्टका वीरभद्र रोकायाले धारा सुकेपछि घण्टौं पालो पर्खेर पानी थाप्नुपरेको बताए ।
त्यस्तै, त्रिपुराकोट रसीका शेरबहादुर बुढाले पनि हिउँ नपरेकाले खानेपानीको मुहान सुकेको बताए । विभिन्न सरकारी तथा गैरसरकारी निकायले बनाइदिएको कलधाराको त कुनै काम छैन । मूलमा नै पानी सुकेपछि ती सबै बेकार भएका छन्, बुढाले भने ।
त्रिपुराकोटको रसीका तीनवटा धाराको मूल सिमखोला सुक्दै गएपछि डेढ सय घरधुरीले समस्या भोगिरहेको सरसफाइ तथा खानेपानी सव-डिभिजन कार्यालय दुनैले जनाएको छ । यस्तै, सर्मीको ओक्टका २ सय घरधुरीले प्रयोग गर्दै आएका २ वटा मूल सुकेका छन् । स्थानीय जगबहादुर रोकायाले भने, पानी नभएपछि मानिस मात्र होइनन्, पशुले समेत खान पाएका छैनन् । कान्तिपुरमा समाचार छ ।
विद्युत् उत्पादन घट्यो
हुम्ला सदरमुकामलगायत ६ गाविसका बासिन्दाका लागि विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना विद्युत् आयोजनाबाट अघिल्ला वर्ष ५ सय किलोवाट उत्पादन हुँदै आएको थियो ।
लामो खडेरीले पानीको सतह घटेपछि अहिले २ सय ५० किलोवाट मात्र उत्पादन हुन थालेको छ । यही कारण सिमकोटका बासिन्दाले अहिले २० घण्टा लोडसेडिङ बेहोर्नुपरेको छ । खोलाको पानी सुकेकाले उत्पादन घटेको प्राविधिकले बताएका छन् ।
इन्जिनियर जाङवु शेर्पाले निर्माण सुरु हुनुभन्दा पहिले ५ सय किलोवाट भन्दा पनि बढी उत्पादन हुने देखिएपछि ६ गाविसलाई उपलब्ध गराउने लक्ष्य निर्धारण भएकोमा अहिले पानी सुकेकाले उत्पादन घटेको बताए ।
हिउँदमा पाँच फिटभन्दा बढी हिउ पर्ने हुम्लामा लामो खडेरीले खोला पनि सुक्दै गएका छन् । यो वर्ष हिउँ पनि खासै परेन । मुहान सुकेर पानी घटेकाले आपूर्तिमा समस्या भएको खानेपानी तथा सरसफाइ सव-डिभिजन कार्यालयका प्रमुख इन्जिनियर ज्वालाराज शाहीले बताए ।
मुहान सुकेर ठप्पै त भएको छैन, तर खानेपानी पुर्याउनै मुस्किल भएको छ, उनले भने । शाहीका अनुसार सदरमुकाम सिमकोटमा खानेपानी उपलब्ध गराएको हुमाने खोला सुकेकाले बुराउसे खोलाबाट पानी ल्याएर पुरानो मुहानमा मिसाई वितरण गरिएको छ ।
जुम्ला सदरमुकाम खलंगामा पनि खानेपानीको हाहाकार भएको छ । मुहान सकेपछि सदरमुकामको भण्डारीबडा बस्तीका धारामा पानी आउन छाडेको छ ।
खोला सुकेकाले स्थानीय सानाजलविद्युत योजनाको विद्युत उत्पादन घटेको छ । यसबाट दैनिक तीन घण्टा मात्र विद्युत आपूर्ति भएको छ । खोला सुक्नु अघि तीन घण्टा लोडसेडिङ हुने गरेको थियो । मुहान सुकेपछि किसानले गाइबस्तु चराउन लैजान छाडेका छन् ।
चरनकै समयमा पानी खुवाउन नपाईने भएपछि उनीहरूले चराउन पनि बन्द गरेका हुन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पानी सुक्दै जॉदा सिंचाई प्रभावित भएको छ । यसबाट ३० प्रतिशत उत्पादन घट्ने अनुमान गरिएको छ । कान्तिपुरमा समाचार छ ।