वीरेन्द्र केसी
ढिकुरा, अर्घाखाँची । घर नजिकैको जंगलमा वन्यजन्तुको सिकार खेल्न सँगै गएका साथीको हत्या गर्ने ढिकुराका डेमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । भाग्दै गरेको अवस्थामा जलुकेबाट उनलाई परिवारसहित पक्राउ गरिएको हो ।
शुक्रबार ढिकुराको चरेपानी जंगलमा डेमबहादुरसँगै सिकार खेल्न गएका केशरबहादुर तंगनामी मगरको गोली लागेर मृत्यु भएको थियो । मगरको मृत्युपश्चात गुरुङ घरबाट परिवार लिएर राति नै भागेका थिए । प्रहरीले डेमबहादुरसहित उनकी आमा ललिता, भाई जीवन, श्रीमती शान्ता, ५ वर्ष मुनिका दुई छोरालाई पक्राउ गरेको हो ।
राति जंगलको बाटो हुँदै भाग्दै गरेको अवस्थामा जलुके प्रहरी चौकीले शनिबार राति पक्राउ गरेको प्रहरी निरीक्षक सुजनकुमार राजभण्डारीले बताए ।
पक्राउ परेका गुरुङले सिकार मार्न खोज्दा आफू चिप्लिएर लडेपछि बन्दुक पड्केर साथीलाई लागेको बयान दिएका छन् । झुक्किएर गोली लागेपछि डरले परिवारसहित भागेको उनले बताएका छन् ।
उनले प्रयोग गरेको बन्दुकसमेत अवैध भएको भन्दै प्रहरीले कारबाही अघि बढाएको जनाएको छ ।
तस्बिरमा अभियुक्त ३५ वर्षीय डेमबहादुर गुरुङ ।
चरेपानी लगायत । फाइल तस्बिर