खोटाङको काभ्रेटार बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४, ३२ जना घाइते

खोटाङको महादेवस्थान गाविस-१ काभ्रेटारमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा अरु ३२ जना घाइते भएका छन् ।
मृतकहरुमध्ये खोटाङ दिक्तेल-१४ का सन्तोष कटुवाल, उदयपुर बासबोटे-३ का द्रबिन राई, खोटाङ च्यानिटार-६ का रबिन राई, उदयपुर ठाना गाउँ-३ का हेम सुनुवार, सोही स्थानका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा-३ की विमला राई, उदयपुर ताम्लिखाकी शान्ता राई, खोटाङ याम्खा-७ का भैरव राई, खोटाङ च्यास्मिटार-८ का सुरेन्द्र राई, सोलुखुम्बुकी सुस्मा राई, पञ्चन-१ सोलुखुम्बुका सोम सुन्दास, खोटाङ ढिकुवाका मेजर राई, काठमाडौं घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी-५ का मित्रकुमार राई, उदयपुर-५ ताम्लिखाका ओमश्री राई र ठेगाना नखुलेका गोविन्द तिमल्सिनाकोमात्र सनाखत भएको छ ।
अझै सातजनाको सनाखत हुन सकेको छैन । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका २५ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।
घाइतेहरुको काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, बिएन्डबी र सैनिक छाउनी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते सातजनाको भने हलेसीमा उपचार भइरहेको दिक्तेलका ट्राफिक इन्र्चाज तेजकुमार बस्नेतले जानकारी दिए ।
खोटाङको दिक्तेलबाट काठमाडौं जाँदै गरेको बा२ख ६३७६ नम्बरको यात्रुबस मंगलबार बिहान ५ बजे काभ्रेटारमा सडकबाट करिब दुई सय मिटर तल खस्दा २४ जनाको मृत्यु भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्िकएको प्रहरीले जनाएको छ ।
कच्ची सडक निर्माणकाक्रममा ठेकेदारले भित्तातर्फ ढुंगा थुप्रारेको र छेउतर्फको माटो नयाँ भएकोले बस भासिएर तल खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसीबाट गएको प्रहरी र सेनाको टोलीले घटनास्थलमा घाइतेहरुको उद्धार गरेका थिए ।
घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर पश्चिममा पर्दछ । बसमा ५६ जना यात्रु सवार रहेको जनाइएको छ । इमेजखबरमा समाचार छ ।