नेपालको सबैभन्दा अधिक गर्मी हुने नेपालगन्जमा चर्को घाम र तातो हावा (लु)का कारण जनजीवन प्रभावित

नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेरसमेत चिनिने नेपालगन्जमा केही सातायता अत्यन्त चर्को घाम र तातो हावा (लु)का कारण जनजीवन प्रभावित भएको छ। 
 
नेपालगन्जस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी  रेकर्ड गरिएको छ । मौसम विज्ञका अनुसार यहाँको अधिकतम तापक्रम अझै बढ्ने अनुमान छ। 
 
गर्मी महिना सुरु भएयता नेपालगन्जमा पानी परेको छैन। आमनागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नुपरेको छ। 
 
चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ। 
 
यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फीलगायत चिसो पेय तथा खाद्य वस्तु अधिक सेवन गर्ने गर्छन्। 
 
गर्मीका कारण घाउखटिरा, आउमासी, टायफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको चिकित्सकहरु बताउँछन्। 
 
यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको छ। 
 
त्यसैगरी, गर्मीमा विद्युत्को खपत अधिक हुन थालेपछि यहाँस्थित विद्युत् प्राधिकरणले दैनिक नौ घन्टा विद्युत्भार कटौतीको तालिका प्रकाशित गरेको छ। रासस