धातिवाङका युवाहरु विदेश जान छाडेर तरकारी खेतीमा

श्रृजन भुषाल  
धातिवाङ,  अर्घाखाँची । धातिवाङ गल्दाका बुद्धिराम पौडेलले कृषि र पशुपालनबाट वार्षिक १० लाख आम्दानी गर्छन् । उनले २० रोपनी जग्गामा तरकारी खेती गरेका छन् । ६० ओटा बाख्रा पालेका छन् । दुई वर्षअघि ड्राइभर पेसा छाडेर कृषिमा लागेका पौडेल मनग्य आम्दानी हुन थालेपछि हौसिएका छन् ।
‘तरकारी, महबाट ५ लाख र बाख्राबाट ५ लाख गरी करिब १० लाख आम्दानी हुन्छ’ उनले भने,  आम्दानी राम्रो हुँदा निकै खुसी लागेको छ ।उनले वार्षिक ६०-७० क्विन्टल आलु उत्पादन गर्छन् । आलुबाट मात्र २ देखि दुई लाख ५० हजारसम्म आम्दानी हुने उनले बताए । पौडेलले ३२ घार मौरी पालेका छन् । उनको कृषिबाटै करोडपति बन्ने धोको छ । निरन्तर रूपमा मेहेनत गरे करोडपति बन्न गाह्रो छैन, उनले भने,  वर्षैपिच्छे विस्तार गर्दै लैजाने सोच छ ।
धातिवाङ तरकारी खेतीका लागि उपयुक्त ठाउँ मानिएको छ । पर्याप्त मात्रामा सिंचाइको सुविधा भएपछि यहाँ व्यवसायिक रूपमा तरकारी खेती गर्ने बढेका छन् । यहाँको आलुको माग जिल्लामा बढ्दो छ । आलु किन्न कृषकलाई बजारसम्म पुग्नै पर्दैन । जिल्ला सदरमुकाम र अन्य ठाउँका मानिस घरघरमा पुगेर आलु किन्ने गरेका छन् । ‘हाम्रो ठाउँमा उत्पादन भएको आलु निकै रसिलो छ उनले भने, ‘माग बढ्दो छ, मागअनुसारको उत्पादन गर्न सकेका छैनौं ।’ स्थानीय अमर प्राविका शिक्षक हिमलाल पौडेलले पनि तरकारी खेतीबाट वार्षिक २ लाख ५० हजारसम्म आम्दानी गर्ने बताउँछन् । उनी बिहान बेलुका खेतबारीको काममा व्यस्त हुन्छन् । ‘बिहान बेलुका र बिदाको समयमा कहिल्यै खाली बस्दैनौं,’ उनले भने, ‘अन्य पेसा गरेर पनि कृषि गर्न सकिन्छ ।’ उनले करिब १० रोपनी जग्गामा तरकारी खेती गरेका छन् । ४ सय ५० घरधुरी रहेको धातिवाङमा करिब डेढ सय घरपरिवार कृषिमा आश्रित रहेको शिक्षक पौडेलले जानकारी दिए ।
उनले धातिवाङमा कृषिबाट वार्षिक ४० लाखभन्दा धेरै भित्रने गरेको बताए । ‘व्यवसायिक रूपमा कृषि र पशुपालनबाट धेरै आम्दानी गर्ने कृषक १२-१५ जना छौं,’ उनले भने, ‘अन्यले निर्वाहमुखी कृषि गरिरहेका छन् ।’ केही युवा खाडी मुलुकमा छन् भने धेरै भारतमा रोजगारी गरिरहेका छन् । यहाँका युवाले बाँझिदै गएका खेतबारीलाई खनजोत गरी कृषि गर्न थालेका छन् । अन्य पेसा व्यवसाय छाड्दै कृषिमा होमिनेको संख्या बढ्दो छ । धातिवाङ-२ निन्युखर्कका मनमोहन थापा विदेश जान छाडेर तरकारी खेतीमा लागेका छन् । चार वर्ष मलेसियामा रोजगारी गरेका उनी आफ्नै ठाउँको माटोमै रमाउँदा आनन्द लागेको बताउँछन् । ‘विदेशमा धेरै दुःख छ,’ उनी भन्छन्, ‘कम श्रममै विदेशमा भन्दा धेरै आम्दानी हुँदोरहेछ ।’
धातिवाङ ७ का हरि रास्कोटीले सब ओभरसियर पढेर बुटवलमा जागिर खाए । तार, अहिले जागिर छाडेर गाउँमै तरकारी खेती गर्न थालेका छन् । ‘तरकारी खेतीबाट राम्रो आम्दानी भएको छ,’उनले भने, ‘जागिरभन्दा यही ठीक लाग्यो ।’ कृषकहरू टनेलमा टमाटर खेती गर्नप्रति बढी आकर्षित बनेका छन् । बेमौसमी तरकारी खेतीबाट धेरै आम्दानी हुने भएपछि विभिन्न जातका बेमौसमी तरकारी खेती गरिरहेका छन् । कृषकहरू तरकारीका बिरुवा पनि बिक्री गर्छन् ।

अन्य समाचारहरु