सउदी अरबद्वारा आफनो देशलाई सेप्टेम्बर ११ को आक्रमण जिम्मेवार नबनाउन अमेरिकालाई चेतावनी

अमेरिकी संसदले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका जिम्मेवार मुलुकबारे ऐन बनाउन लागेकामा सउदी अरबले आफनो देशलाई जिम्मेवार नबनाउन चेतावनीपूर्वक आग्रह गरेको छ ।
अमेरिका भ्रमणमा रहेका सउदी बिदेशमन्त्री आदिल जबीरले सउदी अरबको तर्फबाट उक्त चेतावनीसहितको विज्ञप्ती अमेरिकी राष्ट्रपति बाराक ओबामासमक्ष पेस गरेका हुन् ।
अमेरिकी अदालतले घटनाको जिम्मेवार सउदी अरबलाई ठहराएमा अमेरिकामा रहेको सउदी अरबको अरबौं डलर बराबरको सम्पत्ति बेचबिखन गर्ने चेतावनी दिइएको छ ।
यो चेतावनीपछि राष्ट्रपति ओबामाले संसदमा रहेको उक्त विधेयक रोक्नेसम्बन्धमा डेमोक्रेटिक र रिपब्लिकन पार्टीसँग सल्लाह गरिरहेको बताइएको छ ।
सउदी अरबको अमेरिकामा हाल ७ सय ५० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । सन् २००१ को अमेरिकी हमलामा सउदी अरबका केही ब्यक्तिको संलग्नता रहेको यसअघि नै पुष्टी भइसकेको छ ।
यता अमेरिकी राष्ट्रपति बाराक ओबामा आगामी बुधबार सउदी अरबको भ्रमणमा जाँदै छन् । भ्रमणका अवसरका उनले सउदी राजालगायत अरु नेतासँग पनि भेटघाट गर्ने कार्यक्रम छ । (एजेन्सी)