वि.सं २०७२ वैशाख १२ गते । बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भएपनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आ-आफ्नै ध्याउन्नमा थिए ।
मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ म्याग्निच्यूडको भूकम्प गयो । यसबाट करिब नौ हजार नेपालीको मृत्यु भयो भने दुई हजार २०० भन्दा बढी घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए ।
हजारौं घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दू बनाइ गएको उक्त भूकम्प नेपालीका लागि ‘कालोदिन’ बन्यो ।
त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ ।
वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । हालसम्म ४ म्याग्निच्यूड र त्यसभन्दा माथिका ४४९ परकम्प आएका छन् ।
केन्द्रका प्रमुख लोकविजय अधिकारीकाअनुसार नेपालमा वि.सं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।
नेपालमामात्र हैन, यसबीचमा छिमेकीमुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ म्याग्निच्यूडका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
भूकम्पसम्बन्धी विश्वका तथ्यांक हेर्दा हरेक वर्ष औसतमा एकओटा ८ म्याग्निच्यूडभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ म्याग्निच्यूडका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ म्याग्निच्यूडसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।
भूकम्प मापन केन्द्र आफैं घाइते
नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एकमात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैं घाइते अवस्थामा छ ।
पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख अधिकारीकाअनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले ६ जनामा सीमित छ ।
वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ ।