किमडाँडामा भिषण आगलागी, ठुलो क्षति (तस्बिर-भिडियो सहित )


अर्घाखाँची जिल्लाको सन्धिखर्क -२  स्थित  किमडाँडा भलायडाँडा जंगलमा भिषण आगलागी भएको छ । जंगलको धेरै जसो भाग जलेर नष्ट भएको छ । आगो निभाउन प्रमुख जिल्ला अधिकारी लगायत उच्च तहका सरकारी कर्मचारी सहित सन्धिखर्क नगरपालिकाको दमकल, नेपाली सेना, नेपाल प्रहरी एवम स्थानियबासीहरु जुटेका छन् । दिउसो करीव तीनवजेबाट शुरु भएको आगलागीले स्थानिय भेष राज बन्जाडे लगायत करीव आधा दर्जन बढी  घर, गोठ जलेर नष्ट भएका छन् । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडाबर्तन, काठपात जलेर सबै नष्ट भएका छन् ।
 
शोभाखर पन्थी
किमडाँडा, अर्घाखाँची  । अर्घाखाँची जिल्लाको किमडाँडामा भिषण आगलागी भएको छ । दिउसो ३ वजे भलायडाँडा जङ्गलबाट शुरु भएको आगोले सयौं रोपनी जङ्गल विनास गरी किमडाँडा वस्तीमा समेत क्षति पु-याएको छ । आगलागी भए सँगै सयौंको संख्यामा घट्ना स्थलमा पुगेका सेना, प्रहरी र स्थानीय वासिन्दाको निरन्तर प्रयासका बावजुत पनि आगोले आधा दर्जन घर तथा केही गोठहरु र चौपया समेत जलेर नष्ट भएका छन् । 
सदरमुकाम सन्धिखर्क नजिकैको भलायडाँडा जङ्गलबाट शुरु भएको आगो राती अवेर सम्म पनि किमडाँडाको जङ्गल र वस्तीमा फैलिएको छ । आगलागीबाट वस्ती जोगाउन सेना र प्रहरीले भरमग्दुर प्रयास गरे पनि हावाहुरीका कारण आगो नियन्त्रण गर्न निकै कठिन भएको प्रंहरी नायव उपरिक्षक नवरत्न पौडेलले बताउनु भयो । 
आगलागीबाट हाल सम्म कुनै मानविय क्षति नभए पनि आगो निभाउने क्रममा केही सेना र प्रहरी सामान्य घाईते भएका छन् । अगलागीका कारण गाउँमै रहेको रेडियो अर्घाखाँचीको स्टुडियोमा पनि सामान्य क्षति भएको छ । रेडियो भएको घरमा आगो जान नदिनका लागि ठूलो प्रयास भएका कारण रेडियो जोगिएको रेडियोका अध्यक्ष चन्द्र वञ्जाडेले बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, चन्दनाथ गणका गणपति उज्जोल बिक्रम राणा, प्रहरी नायव उपरिक्षक नवरत्न पौडेल, जिल्ला वन अधिकृत बलिराम पण्डीत लगायतका कार्यालय प्रमुखहरु आगलागी भएको क्षेत्रमा खटिरहनु भएको छ ।