भूकम्पको एक वर्ष ! मृत्यु भएका, घाइते भएका र घरबार गुमाएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम
बैशाख १२ गते, २०७३ मा प्रकाशित
इमेजखबर
भूकम्प गएको एक वर्ष पूरा भएकै सन्दर्भमा देशका विभिन्न स्थानमा भूकम्पमा परी मृत्यु भएका, घाइते भएका र घरबार गुमाएकाहरुको सम्झनामा विभिन्न कार्यक्रम भइरहेका छन् ।
काठमाडौंको बसन्तपुरमा भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा विभिन्न संघ संस्थाले धुपवत्तिसहित श्रद्धान्जली कार्यक्रम गरे ।
नयाँ शक्ति नेपाल अभियानले नेपालको नक्शा बनाएर त्यसको बीचमा आठ हजारभन्दा बढी अगरबत्ति बालेर मृतात्माको शान्तिको कामना गरेको हो ।
अरु विभिन्न संघ संस्थाले काठमाडौंको बसन्तपुरबाट २०७२ साल बैशाख १२ को भूकम्पको सम्झना गर्दै र्याली निकाले । चेतनामूलक सन्देश लेखिएका प्लेकार्ड बोकेका सहभागिहरुले नगरको विभिन्न भागको परिक्रमा गरेका थिए ।
त्यस्तै, दिवंगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै विभिन्न धार्मिक संघसंस्थाले पनि देशभर विभिन्न कार्यक्रम गरेका छन् ।
राजधानीको वसन्तपुरमा बौद्ध धर्मावलम्बीहरुले भूकम्पमा दिवंगत भएका स्वदेशी तथा विदेशीको आत्माको चीर शान्तिको कामना गर्दै वृहत परित्राण पूजा गरे । कार्यक्रममा वौद्ध धर्मावलम्बी गुरुहरुको सहभागीता रहेको थियो । इमेजखबरमा समाचार छ ।