प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आफ्ना कार्यकर्ता परिचालन गर्न सबै राजनीतिक दललाई आह्वान गरेका छन् ।
भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा खटिने इन्जिनियरहरुलाई दिइएको तालिम समापन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुक पुनर्निर्माणका लागि कार्यकर्ताहरुलाई परिचालन गर्न राजनीतिक दलहरुलाई आह्वान गरेका हुन् ।
उनले अब कुरा हैन काम गर्ने समय आएको भन्दै भूकम्प प्रभावित क्षेत्रमा सबै राजनीतिकलाई स्वयम्सेवक परिचालन गरी सहयोग गर्न आग्रह गरे ।
प्रत्येक दलबाट स्वयम् सेवक परिचालन गरेर पुनर्निर्माणमा राजनीतिक सहमति र एकता देखाउनु आवश्यक रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले देशको पुनर्निर्माणका लागि नेपालीहरु आफैं सक्षम रहेको भन्दै नवनिर्माणका काममा लाग्न युवाहरुलाई आह्वान गरे ।
उनले मुलुकको पुनर्निर्माणका लागि सिद्धान्तमा उभिएर जनतामुखी भएर काम गर्न इन्जिनियरहरुलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले पुनर्निर्माणको काम गर्दा भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन आग्रह गर्दै अहिले खटिने इन्जिनियरहरुलाई इमान्दारितापूर्वक जनताको सेवा गर्न निर्देशन दिए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले नवनियुक्त इन्जिनियरहरुले भूकम्प प्रतिरोधात्मक भवन निर्माणमा प्राविधिक सल्लाह दिने, अनुदान रकम वितरण गर्ने र जनतासँगको समन्वयमा काम गर्ने बताए ।
उनले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको लागि प्रत्येक वडामा २ जना इन्जिनियरसहित १३ सय ४६ जना परिचालन गरिएको जानकारी दिए ।
नवनियुक्त इन्जिनियरहरुलाई दुई दिनसम्म आधारभूत तालिम दिइएको थियो । उनीहरु भोलिबाट कार्यस्थलमा खटिने भएका छन् । इमेजखबरमा समाचार छ ।