टर्कीका प्रधानमन्त्री डाभुटोलुले एके पार्टीको विशेष महाधिवेशनमा आफ्नो पदबाट राजीनामा दिने

टर्कीका प्रधानमन्त्री एहमेट डाभुटोलुले यसै महिना केही पछि सत्ताधारी एके पार्टीको विशेष महाधिवेशनमा आफ्नो पदबाट राजीनामा दिने बताएका छन्।
टर्कीलाई राष्ट्रपतीय शासन प्रणालीमा लैजाने राष्ट्रपति एर्दोआनका योजनाहरुसंग असहमत भएपछि उनको राष्ट्रपतिसंगको सम्बन्ध चिसिएको थियो। तर उनले बिहीबार दिएको एक भाषणमा आफू राष्ट्रपति एर्दोआनप्रति वफादार रहने र कसैसंग पनि आफ्नो रिस नरहेको बताए। प्रधानमन्त्री डाभुटोलु राष्ट्रपतिको बोलीमा बोली मिलाउने व्यक्ति हुने अनुमान गरिएको थियो, तर उनले राष्ट्रपतिका केही विवादास्पद नीतिहरुमा सहमति जनाएनन्।
राष्ट्रपतिको शक्ति बलियो बनाउने गरी संविधानमा परिवर्तन गर्ने कदमलाई उनले आफ्नो महत्वपूर्ण समर्थन दिन मानेनन्।
अब उनको राजीनामापछि टर्कीमा राष्ट्रपति एर्दोआनको पकड झन कसिलो हुंदै जानेछ र उनले आफूले भनेको मान्ने व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नेछन्।
पदबाट राजीनामा दिने घोषणा गरेका प्रधानमन्त्री डाभुटोलुका उत्तराधिकारीको चयन आउंदो मे २२ तारिखमा हुने पार्टीको महाधिवेशनका बेला गरिने बताइएको छ।बिहीबार केही अघि बोल्दै राष्ट्रपति रेजेप तय्यप एर्दोआनका विशेष सहयोगी केमिल एर्टेमले नयां नेताको चयनसंगै नयां निर्वाचन नहुने बताएका थिए।टर्कीको टेलिभिजनसंग कुरा गर्दै उनले राष्ट्रपति एर्दोआनसंग निकट रहेर काम गर्न सक्ने नयां प्रधानमन्त्रीको नियुक्ति भएपछि देशको शासन व्यवस्था र अर्थतन्त्र थप स्थिर हुने बताएका थिए।
टर्कीमा देखिएको नयां राजनीतिक घटनाक्रमहरुबाट थुप्रै पश्चिमा नेताहरुले असहज अनुभव गर्नेछन् किनकि उनीहरुलाई राष्ट्रपति एर्दोआनसंग व्यवहार गर्न अप्ठ्यारो पर्न सक्नेछ।बीबीसीका टर्की सम्बाददाता मार्क लोवेन भन्छन्, अब टर्की सुरक्षा चिन्ता, मानवअधिकार र वाक् स्वतन्त्रता उल्लंघन जस्ता विवादहरुका माझ राजनीतिक संकटमा फस्न पुग्ने जोखिम बढेको छ।
यसैबीच नयां नियुक्त हुने प्रधानमन्त्रीलाई पनि राष्ट्रपतिको सन्देश अहिले नै स्पष्ट भएको देखिन्छ।त्यो हो, “मैले भनेको मान्नु नत्र हाल डाभुटोलुको जस्तै हुनेछ।” बीबीसी