जुकेनामा ६ महिनादेखि विद्यालयमा तालबन्दी, पठन पाठन सुरु हुन सकेन

प्रेम आचार्य 
अर्घाखाँची । अर्घाखाँचीको जुकेना गाविसको सुधा उच्च माध्यमिक विद्यालयमा तालाबन्दी भएका कारण पठनपाठन सुरु हुन सकेको छैन । विद्यालयको प्रधानाध्यापक नियुक्तिमा विवाद आएपछि विद्यार्थीको परीक्षा नतिजा पनि नआएको विद्यार्थीले जनाएका छन् ।
प्रधानाध्यापक कुलविक्रम खनाल शिक्षक टिकाराम घिमिरेलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएर सेवा निवृत्त हुनु भएको थियो । तर विद्यालय व्यवस्थापन समितिले भने अर्का शिक्षक कोलेश्वरप्रसाद मिश्रलाई प्रधानाध्यापक बनाउने निर्णय गरेको थियो ।
दुई मध्ये कसलाई प्रधानाध्यापक बनाउने भन्ने विषयमा विवाद आएपछि मंसिर २७ गतेदेखि विद्यालयमा तालाबन्दी भएको थियो । विवाद नटुंगिए पछि जिल्ला शिक्षा कार्यलयले स्रोत व्यक्ति भोजराज आचार्यलाई निमित्त प्रधानाध्यापक बनाएर परीक्षा लिएको भएपनि नतिजा प्रकाशन गर्न सकिएको छैन ।
आचार्य भन्नुहुन्छ परीक्षा गराएको भएपनि हाजिरी र कागजातहरु कार्यालय भित्र नै भएर नतिजा प्रकाशन गर्न सकिएन । शिक्षा कार्यालयले जेष्ठताको आधारमा टिकाराम घिमिरेलाई प्रधानाध्यापकको पत्र थमाएको छ ।
छ सय विद्यार्थी अध्ययनरत विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपनि पढाई सुरु हुन सकेको छैन । विद्यालय सञ्चालन गर्न छिटो पहल हुन नसके विद्यार्थीको भविष्य अन्धकारमा पर्ने स्थानीयवासिन्दा युवराज पौडेलले बताउनुभयो । प्रधानाध्यापक छनौटमा राजनीतिक खिचातानी भएको स्थानीय बासिन्दाले जनाएका छन् ।