ठूलापोखराका महिलाहरु पूर्ण सरसफाइयुक्त गाउँ बनाउन प्रतिबद्ध

ठूलापोखरामा । फाइल फोटो 

प्रेम आचार्य
ठूलापोखरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको ठूलापोखरा गाउँ विकास समितिमा सञ्चालित पूर्ण सरसफाइ प्रवद्र्धन अभियान अन्र्तगत बैशाख सुक्रबार र सनिबार दुई समूहमा महिला स्वास्थ्य स्वयम् सेविका र स्वस्थ आमा समूहका प्रतिनिधिहरुलाई पूर्ण सरसफाइ एवं महिनावारी स्वच्छता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ  ।
भिवाससिसिको आयोजनामा जिल्ला विकास समितिको कार्यालय एवं पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाइ परियोजना दोस्रोको सहयोगमा गाविस कार्यालयमा सञ्चालित पहिलो दिनको तालिममा युएन ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले महिनावारी हुँदाको सरसफाइ एवं पूर्ण सरसफाइका सूचकहरु सम्बन्धमा सहजीकरण गर्नु भएको थियो । जिल्ला विकास समितिको कार्यालयका कार्यक्रम अधिकृत नेत्र प्रसाद भुसालले तालिमको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो । परियोजनाका फिल्ड अधिकृत खिमानन्द पोख्रेलले पानीको गुणस्तर परिक्षणको नतिजा सार्वजनिक गर्दै अधिकाँश पानीका स्रोतहरुको पानी परिक्षण गर्दा कोलीफर्म भएको पाइएको हुँदा पानी उमालेर मात्र पिउनु पर्ने जानकारी गराउनु भएको थियो ।
स्वास्थ्य चौकी प्रमुख एवं भिवाससिसिका सदस्य सचिव विश्वदेव न्यौपानेले पूर्ण सरसफाइ र रोगहरुको सम्बन्ध, जापानीज इन्सेफ्लाइटिस सम्बन्धी खोप अभियान बारेमा जानकारी गराउनु भएको थियो । यसै अवसरमा जिल्लाबाट आउनु भएकी डा. नीता पोख्रेल रेग्मीले जापानीज इन्सेफ्लाइटिस खोप अभियानका लक्षित बर्ग १ बर्ष देखि १५ बर्ष उमेर सम्मका बालबालिका भएको बारे जानकारी गराउदै खोप अभियानमा महिला स्वास्थ्य स्वयम् सेविकाहरुको भूमिका सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम अधिकृत नेत्रप्रसाद खनालले पूर्ण सरसफाइ सम्बन्धी १० बुँदे प्रतिबद्धता बाचन गरि सो गर्न सक्ने कि नसक्ने भन्ने प्रश्न गर्दा सहभागीहरुले गर्ने भन्ने प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा समापन मन्तब्य दिनु हुँदै भिवाससिसिका अध्यक्ष एवं गाविस सचिव पुष्करनाथ आचार्यले पूर्ण सरसफाइ अभियान हाम्रो लागि हो भन्ने भावना राखी समाजलाई सफा, स्वच्छ, स्वस्थ, सभ्य र समृद्ध बनाउने पूर्ण सरसफाइ अभियानमा महिलाहरुको ठूलो भूमिका रहने धारणा व्यक्त गर्नु भएको थियो । परियोजनाका अगुवा सहजकर्ता हरि पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको पहिलो दिनको यस तालिममा गाविसका वडा नं १ देखि ६ र ८ का महिला स्वास्थ्य स्वयम् सेविकाहरु, स्वस्थ आमा समूहका प्रतिनिधिहरु र सहजकर्ता सहित ४० जनाको उपस्थिती रहेको थियो ।
यसै गरि शनिबार वडा नं ७ र ९ का महिला स्वास्थय स्वयम् सेविकाहरु, स्वस्थ आमा समूहका प्रतिनिधि सहित स्थानीयको सहभागितामा पूर्ण सरसफाइ एवं महिनावारी स्वच्छता सम्बन्धी तालिम वडा नम्बर ७ मा सञ्चालन गरिएको थियो । जिल्ला विकास समितिको कार्यालयका कार्यक्रम अधिकृत नेत्र प्रसाद भुसालले तालिमको उदेश्यको बारेमा प्रकाश पार्नु भएको थियो । तालिममा युएन ह्याविटाटका जिल्ला संयोजक विष्णु दवाडीले महिनावारी हुँदाको सरसफाइ एवं पूर्ण सरसफाइ अभियानमा महिलाहरुको भूमिका बिषयमा सहजीकरण गर्नु भएको थियो ।
परियोजनाका फिल्ड संयोजक भोजराज पोखरेलले पूर्ण सरसफाइका ६ वटा सूचकहरुको बारेमा प्रकाश पार्नु भएको थियो । त्यसपछि फिल्ड अनुगमन गरिएको थियो । स्वास्थ्य चौकी प्रमुख एवं भिवाससिसिका सदस्य सचिव विश्वदेव न्यौपानेले पूर्ण सरसफाइ र रोगहरुको सम्बन्ध, जापानीज इन्सेफ्लाइटिस सम्बन्धी खोप अभियान बारेमा जानकारी गराउनु भएको थियो । भिवाससिसिका अध्यक्ष एवं गाविस सचिव पुष्करनाथ आचार्यले पूर्ण सरसफाइका सूचकहरु के कति पुरा भए र कसरी पुरा गर्ने कहिले सम्म पुरा गर्ने भन्ने बारेमा छलफल चलाउनु थियो । सहभागीहरुले सात दिन भित्रमा सूचक पुरा गर्ने र आफ्नो गाउँ, वडा तथा गाविसलाई नै पूर्ण सरसफाइयुक्त बनाउन लागि पर्ने प्रतिबद्धता जनाएका छन् । परियोजनाका अगुवा सहजकर्ता हरि पौडेलले कार्यक्रमको सञ्चालन गर्नु भएको दोस्रो दिनको तालिममा गाविसका वडा नं ७ र ९ का महिला स्वास्थ्य स्वयम् सेविकाहरु,स्वस्थ आमा समूहका प्रतिनिधि र सहजकर्ताहरु सहित ३६ जनाको उपस्थिती रहेको थियो ।
स्मरणै रहोस् ठूलापोखरा गाउँ विकास समितिको वडा नं १ र २ मा पूर्ण सरसफाइयुक्त वडा घोषणा पूर्वको अन्तिम गुणस्तर मुल्याँकन डिवाससिसिबाट भई सकेको छ र अब डिवाससिसिको अनुमोदन पश्चात घोषणा गर्ने तयारीमा रहेको छ भने गाउँ विकास समितिलाई नै सन २०१६ सम्ममा पूण सरसफाइयुक्त घोषणा गर्ने गरी अभियान चलिरहेको छ ।
ठूलापोखरामा