अफगानिस्तानमा ६ जना तालिबान लडाकुलाई फाँसी

अफगानिस्तानमा ६ जना तालिबान कैदीलाई फाँसीको सजाय दिइएको छ । सन् २०१४ मा अशरफ घानी राष्ट्रपति बनेपछि तालिबान कैदीलाई फाँसी दिइएको यो पहिलो पटक हो ।
नागरिक तथा सार्वजनिक सुरक्षामा गम्भीर अपराध गरेको आरोपमा ६ तालिबान कैदीलाई फाँसी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ । गएको महिना राजधानी काबुलमा तालिबानको आक्रमणमा परि ६४ जनाको ज्यान गएपछि राष्ट्रपति घानीले तालिबानलाई कडा जवाफ दिने बताउनुभएको थियो । उहाँले तालिबान बिद्रोहीका लडाकुलाई कानुन अनुसार कारबाही गर्ने र त्यसमा फाँसी पनि हुनसक्ने बताउनुभएको थियो ।
सन् २०११ मा राष्ट्रपति बुरहानुद्दिन रब्बानीको हत्यामा संलग्न तालिबान कैदीलाई फाँसी दिइएको हो । फाँसी दिइएका व्यक्ति कानुन अनुसार दोषी पाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसैबिच तालिबानले हेलमण्ड प्रान्तको मुख्य शहर लश्कर गाहको प्रहरी नाकामा आक्राण गरेको छ । 
तालिबानले दुई प्रहरी नाकामा आक्रमण गरेको र १५ जना सुरक्षा अधिकारी मारिएको दाबी गरेको छ । तर प्रहरीले भने १४ जना तालिबान लडाकु मारिएको बताएको छ ।