भारतको असम जिल्लामा एक सरकारी अस्पतालले एचआइभी संक्रमित रगत बिरामीलाई दिएको पीडित परिवारको आरोप छ ।
कामरुप जिल्लाको हाजोबाट आएका बिरामी बच्चाका पिताले यस्तो आरोप लगाएका हुन् । गत वर्ष उपचारका लागि छोरालाई जीएमसी मेडिकल कलेज भर्ना गरेको जनाउँदै उनले त्यतिबेला सोही अस्पतालको ब्लड बैंकबाट पटक-पटक रगत लगेर छोरालाई दिइएको बताए । संक्रमित रगत दिइएकै कारण आफ्नो छोरा एचआइभी संक्रमणको सिकार भएको उनको आरोप छ ।
अस्पतालका अधीक्षक डा. बाबुल कुमार बेजबरुवाले ती बालकलाई एचआइभी संक्रमण भएको स्वीकार गरेका छन् । यस सम्बन्धमा छानविनका लागि अस्पतालले पाँच सदस्यीय समिति गठन गरेको उनले बताए ।
छानविन पुरा नभईकन ती बालकको शरीरमा एचआइभी संक्रमण कसरी भयो भन्नेबारे आफूले बताउन नसक्ने उनको भनाई थियो । उनका अनुसार अस्पतालमा ती बालकको पटक-पटक शल्यक्रिया भएको थियो । गत वर्ष अक्टोबरमा ती बालकलाई अस्पतालले डिस्चार्ज गरेको थियो ।
यसै वर्ष मार्चमा ती बालकलाई पुनः सोही अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उनलाई एचआइभी संक्रमण भएको पाइएको थियो । (एजेन्सी)