बंगलादेशमा चट्याङ लागेर ५० जनाभन्दा बढीको मृत्यु

बंगलादेशमा चट्याङ लागेर ५० जनाभन्दा बढीको मृत्यु भएको छ ।
बंगलादेशका विभिन्न भागमा दुई दिनयता चट्याङ लागेर मर्नेमा धेरैजसो खेतमा काम गरिरहेका किसान भएको त्यहाँको प्रहरीले जनाएको छ ।
राजधानी ढाकामामात्रै दुई विद्यार्थीको मृत्यु भएको छ । गत मार्चयतामात्रै चट्याङ लागेर करिब ९० जनाको मृत्यु भैसकेको छ ।
बंगालादेशको विपत् व्यवस्थापन विभागका प्रमुख मोहम्मल रियाज अहमदले चट्याङ लागेर मर्नेको संख्या बढ्दै गएबाट गम्भीर चिन्ता उत्पन्न भएको बताएका छन् । उनले यो महिनाको बाँकी समयमा पनि थप मेघगर्जनको सम्भावना रहेको बताए ।
विज्ञहरुले तापमानमा बृद्धि र वन विनाशका कारण बढी मेघगर्जन भइरहेको हुनसक्ने अनुमान गरेका छन् । (एजेन्सी)