नरपानी बस दुर्घटनाका १९ जना मृतकका परिवारले ५/५ लाख रुपैयाका दरले क्षतिपुर्ती पाउने (फैसला सहित)

२०७१ बैशाख १७ गते १९ मर्ने गरी विभत्स बस र ट्रक दुर्घटना भएको थियो। 
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम )। अर्घाखाँची जिल्लाको नरपानीमा दुई वर्ष अगाडि भएको बस र ट्रक दुर्घटनाका १९ जना मृतकका परिवारले  ५/५ लाख रुपैयाका दरले क्षतिपुर्ती पाउने पाउने भएका छन् । 
दुर्घटनामा ठुलो जनधनको क्षति भएको सम्बन्धमा घर खर्च, किरीया खर्च र क्षतिपूर्ति बिषयको मुद्दामा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ईजलाशले आज आइतवार उक्त फैसला गरेको हो । 
यस्तै उक्त दुर्घटनामा परेका घाईतेहरूलाई लागेको उपचार खर्च तथा क्षतिपुर्ती वापतको कूल जम्मा रू ६५,१८,८९०।- पैसठ्ठी लाख अठारह हजार आठ सय नब्बे भएको खर्च पश्चिम नेपाल बस व्यवसायी संघबाट भराई दिलाई दिने फैसला पनि गरेको छ । 
दुई वर्ष अगाडि २०७१ बैशाख १७ गते सन्धिखर्कबाट बुटवलतर्फ जादै गरेको लु १ ख ६२३१ नं को बस र विपरित दिसाबाट आएको लु १ ख ७८२५ नं को मिनि ट्रक नरपानी गाविस वडा नं ५ जगत स्थित सडकमाअन्दाजी १:२५ बजेको दिउसोको समयमा एक(आपसमा ठोक्किदा दुर्घटना हुँदा दुवै सवारी साधन सडकबाट १५० मिटर तल पल्टन गई बसमा सवार रहेका यात्रु मध्ये १९ जनाको मृत्यु तथा ३१ जना घाईते भएको थियो । साथै सडक मुनी स्थानिय माया विकको गोठ भत्कन गई भैसी, बाख्रा समेत मरेका थिए । 
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको ईजलाशबाट भएको फैसला यस्तो छ:-
१- सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ बमोजिम प्रतिवादीमध्येका लु १ ख ७८२५ नं को ट्रक व्यवस्थापक पश्चिमाञ्चल यातायात व्यवसायी समिति, प्रधान कार्यालय बुटवलबाट उक्त दुर्घटनामा मृत्यु भएको १९ जना मृतकहरूका हकवाला पीडितहरू प्रत्येकलाई रू ५/५ लाखको दरले पाउने गरी जम्मा रू ९५,००,०००।- पञ्चानब्बे लाख तेस्रो पक्ष विमा भराई दिलाई दिने ।
२- सो तेस्रो पक्ष विमा रकम व्यवस्थापकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ को ६ बमोजिम प्रतिवादी नेपाल ईन्सुरेन्स कम्पनी लिमिटेड, बुटवलबाट विमित रकम सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५५ बमोजिम निज प्रतिवादी पश्चिमाञ्चल यातायात व्यवसायी समितिले भराई लिन सक्ने । 
३- साथै घा खर्च तथा भौतिक क्षतिपुर्ती सम्बन्धमा हेर्दा सवारी व्यवस्थापक सञ्चालकलाई सवारी साधन नियमन गर्ने, व्यवस्थापन गर्ने, दायित्व वहन गर्ने सम्बन्धी ऐनले नै विशेष जिम्मेवारी बनाएको देखिदा उक्त दुर्घटनामा परेका घाईतेहरूलाई लागेको उपचार खर्च तथा क्षतिपुर्ती वापतको कूल जम्मा रू ६५,१८,८९०।- पैसठ्ठी लाख अठारह हजार आठ सय नब्बे भएको देखिएकोले सो घर खर्च तथा भौतिक क्षति भएको रकम प्रतिवादी लु १ ख ६२३१ नं। का बस व्यवस्थापक पश्चिम नेपाल बस व्यवसायी संघबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३ बमोजिम असुल उपर गरी घाईतेको औषधी उपचार खर्च तथा भौतिक क्षति भराई दिलाई दिने ।
४- उक्त औषधी उपचार खर्च, भौतिक क्षतिको रकम सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ५५ बमोजिम विमित रकम लुम्बिनि जनरल ईन्सुरेन्स कम्पनी लिमिटेड बुटवलबाट प्रतिवादी पश्चिम नेपाल बस व्यवसायी संघले भराई लिन सक्ने ।