हंसपुरमा कान्छो छोरा बनाएर किर्ते नागरिकता दिलाएका भारतीय युवाले छोरी लिएर भागे

 प्रेमनारायण आचार्य
हंसपुर, अर्घाखाँची । आफ्नो कान्छो छोरा भनेर सुरज भट्टराईको नाममा भारतीय नागरिकलाई नेपाली नागरिकता प्रदान गर्ने अर्घाखाँची हंसपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  
भारतीय युवालाई कान्छो छोरा भन्दै किर्ते नागरिकता प्रदान गरेको आरोपमा हंसपुर गाविस-८ की ६० वर्षकी हिमकला भट्टराईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  प्रहरी निरीक्षक सुजनराज भण्डारीले बताउनुभयो ।
कान्छो छोरो बनाएकैले छोरी भगाए
कान्छो छोरा बनाएर नागरिकता दिलाएका ती भारतीय युवाले हिमकलालाई अर्को पीडा पनि दिएका छन् । भारतीय युवाले हिमकलाकी छोरी लिएर भागेका छन् ।
छोरी लिएर भागेपछि मात्रै उ भारतीय नागरिक हो भन्ने थाहा भएको हिमकलाले बताउनुभयो । केही समयअघि छोरो भन्दै नागरिकता बनाएकै व्यक्तिले छोरी भगाए पछि हिमकलालाई पर्नु पिर परेको छ ।
त्यसमाथि अहिले किर्ते गरी नागरिकता दिएको आरोपमा प्रहरीले उहाँलाई पक्राउ  पनि गरेको छ । किर्ते कागजात बनाएर भारतीय युवालाई नागरिकता दिलाएको भन्दै उजुरी परेपछि प्रहरीले हिमकलालाई पक्राउ गरेको हो ।
गाविस सचिव कमल पोख्रेलले हिमकलाविरुद्ध उजुरी दिनुभएको थियो। गाविस सचिवको उजुरीको आधारमा हिमकलालाई पक्राउ गरेको प्रहरीको भनाई छ ।  किर्ते गरी नागरिकता लिएर भागेका व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।