इराकी सेनाले इस्लामिक अतिवादी समुह आईएसको नियन्त्रणमा रहेको फलुजामा महत्वपूर्ण सफलता प्राप्त गरेको छ ।
फलुजा नजिक कर्मा शहरमा आईएसको पहिलो रक्षा घेरा तोड्दै सेनाले आफ्नो नियन्त्रण कायम गरेको सरकारी दाबी छ ।
तर शहर भने मृत प्रायः देखिएको बीबीसीले जनाएको छ । संघर्षका कारण शहरमा एक जना पनि सर्वसाधारण नभएको र भवनहरु पूर्ण ध्वस्त भएका छन् ।
राजधानी बग्दादबाट ४५ किलोमिटर पश्चिममा रहेको यस क्षेत्रमा ठूलो संख्यामा सेना परिचालन गरिएको छ । रक्षात्मक अवस्थामा रहेको आईएसले कार बम विष्फोट गराउँदा केही सैनिकको मृत्यु भएको छ भने केही घाईते भएका छन् ।
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा आफ्ना कमाण्डर मारिएको जवाफमा आईएसले उक्त कार वम विष्फोट गराइएको अनुमान छ । इराकको मसुल शहर भने अझै आईएसको पूर्ण नियन्त्रणमा छ । (एजेन्सी)