सन्धिखर्कका हरिप्रसादको कुखुराले सबैभन्दा सानो अण्डा पार्यो, गिनिज वुकमा रेकर्ड राख्ने प्रक्रियामा

सन्धिखर्क, अर्घाखाँचीडट्कम ( अर्घाखाँचीडट्कम ) । अर्घाखाँची  जिल्लाको सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज वुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेको भन्दा सानो अण्डा आफनो कुखुराले पारेको दावी गरेका छन् । हरिले गिनिज वुकमा रेकर्ड राख्ने प्रक्रिया पनि सुरु गरेका छन् ।
गिनिज वुक अफ वल्र्ड रेकर्डमा अहिले सम्म अण्डाको नाप २.१ सेन्टीमिटर रहेको छ । सन्धिखर्क स्थित शान्तिवगैचाका हरिले आफनो कुखुराले उक्त नाप भन्दा सानो अण्डा पारेको दावी गरेका हुन् । उनीसँग रहेको अण्डाको सामान्य नाप १.८५ सेन्टिमिटर मात्र रहेको छ ।
हरिले जिल्ला पशु सेवा कार्यालय अर्घाखाँची मार्फत गिनिज वुकमा रेकर्डका लागि पहल थालेका हुन् ।
उता जिल्ला पशु सेवा कार्यालय अर्घाखाँचीले लाइभष्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वल्र्ड रेकड्र्समा दर्ताका लागि पहल गर्न पत्र लेखेपछि हरिको दावी माथि प्रमाणीकरण कार्य आरम्भ भएको बताएको छ ।
विश्वमा अहिले सम्म कुखुराको सबैभन्दा सानो अण्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ । अगष्ट ९, सन् २०११ मा मापन गरिएको उक्त अण्डाको नाप ०.८२६८ ईन्च अर्थात २.१ सेन्टीमिटर रहेको छ ।