जापानको घना जंगलमा आफ्नै आमाबाबुले छाडेपछि बेपत्ता भएका सात वर्षीय एक बालक ६ दिनपछि सकुशल फेला

 उत्तरी जापाको घना जंगलमा आफ्नै आमाबाबुले छाडेपछि बेपत्ता भएका सात वर्षीय एक बालक ६ दिनपछि सकुशल फेला परेका छन् ।
जापानी संचारमाध्यमका अनुसार उक्त जंगलमा भालुको बिगबिगी छ ।
योमातो नाम गरेका ती बालकलाई उनकै अभिभावकले गत शनिबार जंगलमा लगेर छाडेका थिए । सवारी साधन तथा मानिसहरुलाई जथाभावी ढुंगा हानेको भन्दै योमातोका आमाबुवाले उनलाई सजाय स्वरुप जंगलमा लगेर छाडेका थिए । केहीबेरमै छोरालाई लिन फर्किएका उनीहरुले छोरा बेपत्ता भएपछि खोजीका लागि आग्रह गरेका थिए ।
नाबालक छोरालाई त्यसरी जंगलमा छाडिएको भन्दै ती अभिभावकको व्यापक आलोचना हुँदै आएको थियो भने जापानी सेनाले जंगलमा बालकको खोजीका लागि  सर्च अप्रेशन नै संचालन गरेको थियो ।
समाचार एजेन्सीहरुका अनुसार शुक्रबार बिहान ती बालकलाई सेनाको एक टोलीले फेला पारेको हो । निकै भोकाएको अवस्थामा फेला परेका बालकलाई सेनाले नै केही खानेकुरा दिएर जंगलबाट बाहिर ल्याएको हो । उनको शरीरको बाहिरी भागमा सामान्य चोट लागेको भए पनि स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ । यद्यपि स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल लगिएको छ ।
सेनाले फेला पारेको ती बालकलाई उनका आमाबुवाले पहिचान गरिसकेका छन् । यद्यपि उनीले भेट्न भने पाएका छैनन् । स्वास्थ्य परीक्षणपछि ती बालकलाई परिवारको जिम्मा लगाउने बताइएको छ ।
जापानी विद्युतीय संचारमाध्यमले नियमित प्रशारण रोकेरै ती बालक फेला परेको समाचारलाई प्राथमिकताका साथ प्रशारण गरेका छन् । (एजेन्सी)