राममणी हत्या २०५८: माओवादी केन्द्र अर्घाखाँचीका अध्यक्ष चन्द्र बहादुर खड्का लगायत ८ जना विरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी

काठमाडौं ( अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र अर्घाखाँचीका जिल्ला समिती अध्यक्ष चन्द्र बहादुर खड्का, जिल्ला सेक्रेटरी ठाकुर कुमार बिक लगायत ८ जना विरुद्धसत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ ।
स्व. राममणी ज्ञवाली
द्वन्द्वका बेला माओवादीबाट आफ्ना बुवा राममणी ज्ञवालीको क्रूरतापुवर्क हत्या भएको किटानी सहित छोरी अनिता ज्ञवालीले काठमाडौंबाट उजुरी दिएकी हुन् । 
नेकपा (माओवादी) केन्द्र  जिल्ला समिती अध्यक्ष चन्द्र बहादुर खड्का,वांगी ३ आस्लामारी, उपाध्यक्ष ठाकुर कुमार बिक, आशा कणेल, धर्म भुसाल, हरि भट्टराई लगायत ८ जना विरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता भएको हो । 
चन्द्र बहादुर खड्का (बाँया) र ठाकुर कुमार बिक ।
अनिताले आयोगसमक्ष आफ्ना बुवा हत्याको निष्पक्षतापूर्वक छानबिन गर्न र  दोषी हत्यारामाथि कठोर दण्ड सजायको सिफारिस गर्न आग्रह गरेकी छन् । दर्ता नम्वर १४७८ परेको उजुरीमा सत्य, न्याय, परिपुरण र हत्यारालाई कारबाही लगायतका माग गरिएको छ । 
यस अघि २०५८ चैत २ गते जिल्ला प्रहरीमा हालेको किटानी जाहेरीकै आधारमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पनि उजुरी हालेको उनले अर्घाखाँचीडट्कमलाई बताइन् । 
तत्कालीन विद्रोही माओवादीले केरुङ्गा- १ निबासी स्व. राममणी ज्ञवालीलाई २०५८ फागुन २९ गते राती सुतिरहेको बेला घरभित्रै हत्या गरेका थिए ।
मंगलबार माओवादीबाट मारिएका ५० जना विभिन्न जिल्लाका पीडित परिवारले संगै उजुरी दर्ता गराएका थिए । 
सम्बन्धित समाचार: