अर्घाखाँची वचत तथा ऋण सहकारी संघको अभिमुखिकरण कार्यक्रम ! आर्थिक क्रान्ति सफल पार्न सहकारीको महत्वपूर्ण भूमिका रहने नेफ्स्कुनका अध्यक्षको भनाई

 अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार १५ ।  नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी लिमिटेड ( नेफ्स्कुन )का अध्यक्ष  ऋषिराज घिमिरेले मुलुकमा आर्थिक क्रान्ति सफल पार्न सहकारीको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।  उनले मुलुक आर्थिक क्रान्तिको चरणमा प्रवेश गर्न लागेको भन्दै क्रान्ति सफल पार्न सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए  । घिमिरले छिट्टै संविधान कार्यान्वयन गरि  देशलाई विकासको गतिमा लैजानुपर्ने बताए । नेफस्कुनको प्राविधिक सहयोग, अर्घाखाँची जिल्ला वचत तथा ऋण सहकारी संघको आयोजनामा भएको नेफ्स्कुन अभिमुखिकरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै उनले अर्थ व्यवस्थाका तीन खम्वा मध्येको सहकारीको आर्थिक समृद्धि हासिल गर्नमा महत्वपूर्ण भूमिका रहने बताए । घिमिरले राज्यले सहकारी क्षेत्रमा प्रभावकारी नीति ल्याउन नसक्दा समस्या सिर्जना भएको बताए । ‘सहकारीले राष्ट्रिय अर्थतन्त्रमा २१ प्रतिशत योगदान पु-याएको छ’ उनले भने, ‘राज्यले सहकारीलाई हेर्ने दृष्किोणमा परिवर्तन आएको छैन  ।’
 नेफ्स्कुनका सञ्चालक समिति सदस्य कृष्ण नेपालले वचतको महत्वलाई बुझ्न नसक्दा धेरै नेपालीले पैसा यसै खेर फालेको बताए ।  उनले सहकारीले पैसा वचत मात्र नगराएर ऋण प्रवाह गरेर मानिसको जीविकोपार्जनमा टेवा पु-याइरहेको बताए । उनले  केहि सहकारीले आर्थिक हिनामिना गर्दा अन्य सहकारीलाई पनि असर पुगेको भन्दै आर्थिक हिनामिना गर्नेलाई कारवाहीको दायरामा ल्याइएको बताए । वैंकको आर्थिक हिनामिना मिडियाले बाहिर सार्वजनिक नगर्ने गरेको पाइएको भन्दै उनले सहकारीको सानो गल्तीलाई पनि तुरुन्तै मिडियाले बाहिर ल्याउने गरेको गुनासो गरे । 
अर्का सञ्चालक सदस्य दामोदर अधिकारीले देशभरीमा १२ हजार सहकारी संस्था रहेको जानकारी दिँदै अधिकांश सहकारीले सहकारीको मर्म अनुसार काम गरिरहेको बताए । उनले दशै भरीका सहकारीमा २०२ अर्व वचत रहेको बताउँदै १८८ अर्व रुपैयाँ ऋण परिचालन गरिएको बताए । उद्योग वाणिज्य संघ अर्घाखाँचीका महासचिव नेत्र भुसालले  निजि क्षेत्र सहकारीसँग मिलेर काम गर्न तयार रहेको बताए ।  ‘निजि क्षेत्र र सहकारी तीन खम्बा मध्येका दुइ  हुन’ उनले भने ‘यि दुइ क्षेत्रको सहयोग बिना आर्थिक क्रान्ति संभव छैन ।’  उनले सहकारीले कृषि, पशुपालन र पर्यटन क्षेत्रमा लगानी विस्तार गरे देश विकासमा टेवा पुग्ने बताए । 
कार्यक्रममा जिल्ला सहकारी संघका लेखा समिति संयोजक महेन्द्र श्रेष्ठ, अर्घाखाँची जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष प्रकाश भुसाल, कोषाध्यक्ष चन्द्रप्रसाद श्रेष्ठ, शालिकराम उपाध्याय लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा  जिल्ला भरका वचत सहकारीका करिव एक सय जना प्रतिनिधिको उपस्थिति रहेको  थियो ।