कांग्रेस अर्घाखाँचीमा विवाद चुलियो

 अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार १८ ।  नेपाली कांग्रेस अर्घाखाँचीमा उत्पन्न विवाद उत्कर्षमा पुगेको छ । जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले मनोनित पदाधिकारी र सदस्यहरु एकलौटी ढंगले मनोनयन गरेको भन्दै कांग्रेसको एउटा समुहले तीब्र असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेसको १३ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा सभापति भएका मुस्कानले सहमति उल्लंघन गरेको अरोप असन्तुष्ट पक्षको छ । पार्टी विधान विपरित सभापति चलेको भन्दै असन्तुष्ट पक्षले जिल्ला पार्टी कार्यालयमा ताला लगाइदिएको छ । असन्तुष्ट पक्षले सन्धिखर्कमा पत्रकार सम्मेलन गरि सभापतिले एकलौटी ढंगले गरेका निर्णय फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छ । पूर्व पार्टी सभापति पिताम्मर शर्मा, निवर्तमान सचिव वासुदेव आचार्य, महासमिति सदस्य देवराज श्रेष्ठ, निवर्तमान कोषाध्यक्ष हरिबहादुर खड्का, पूर्व महासमिति सदस्य लक्ष्मी श्रेष्ठ लगायतका नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।
 सभापति मुस्कानले महिला संघकी जिल्ला सभापति शान्ता भण्डारीलाई उपसभापति र विष्णु भुसाललाई सचिव पदमा मनोनयन गरेपछि विवाद चुलिएको हो । सभापतिले निवर्तमान सभापति कमल भुसाल वरिष्ठ सदस्यमा मनोनयन गरेका छन् ।  पार्टीमा योगदान गरेका पुराना व्यक्ति हुँदाहुँदै नयाँ व्यक्तिलाई उपसभापति र सचिवमा मनोनय गरेको असन्तुष्ट पक्षको आरोप छ । गत १३ औं अधिवेशनमा सभापतिमा तिन जना चुनावी मैदानमा थिए । तत्कालिन सभापति भुसाल, सचिव  आचार्य र मुस्कानले उम्मेद्वारी दिएका थिए । पार्टी नेता कार्यकर्ताले मिलेर अघि बढ्न  दवाव दिएपछि  १२ औं अधिवेशनमा भुसालसँग पराजित भएका मुस्कान सर्वसम्मत सभापति बनेका थिए । असन्तुष्ट पक्षका नेताहरुले निवर्तमान सचिव आचार्यलाई उपसभापति बनाउने भद्र सहमति भएपनि सभापतिले सहमति तोडेको आरोप लगाएका छन् । असन्तुष्ट पक्षले केन्द्रमा पुगेर लिखित उजुरी समेत दिएको छ । 
निवर्तमान सचिव वासुदेव आचार्यले नियमावली नियम ४९ को १ र २ विपरित सभापतिले पदाधिकारी र सदस्य मनोननय गरेको बताए ।  उनले  समावेशी सिद्धान्त विपरित सदस्य मनोनित गरेको आरोप लगाए । एक क्षेत्रमा समावेशी सिद्धान्तका आधारमा चार जना सदस्य मनोनयन गर्न पाइन्छ उनले भने, सभापतिले समावेशी सिद्धान्त विपरित सदस्य मनोनयन गर्नुभएको छ । उनले पार्टीमा योगदान पु-याएका १०  विशिष्ट व्यक्तिलाई मात्र स्थायी आमन्त्रित सदस्य बनाउनुपर्ने विधानमा उल्लेख भएपनि अति सामान्य व्यक्तिलाई समेत राखि २१ जना आमन्त्रित सदस्य बनाएको बताए । उनले सभापतिले मनोनयन गरेका पदाधिकारीलाई कुनै पनि हालतमा स्वीकार नगर्ने चेतावनी दिए । ‘४० प्रतिशत क्षेत्रीय प्रतिनिधिले माग गरे पुन अधिवेशन हुन्छ’ उनले भने, ‘निर्णय फिर्ता नलिए हामी ४० प्रतिशत पु-याएर विशेष अधिवेशन माग गर्छौं ।’ महासमिति सदस्य देवराज श्रेष्ठले वर्तमान पार्टी सभापतिले पहिले भएका भद्र सहमतिलाई तोडेर एकलौटी ढंगले अघि वढेको आरोप लगाए ।  उनले सभापतिले पार्टी भित्र विवाद सिर्जना हुने खालका गतिविधि गरेकाले अन्य पार्टीलाई फाईदा पुगेको बताए ।  सभापतिले निकै काचोपना देखाउनुभयो’ उनले भने, ‘उहाँले नैतिकताका हिसावले राजीनामा गरेर समस्या समाधान गर्नुपर्छ ।’ पार्टी सभापति मुस्कानले पद नपाएको झोकमा सिर्जना गरिएको विवादले कुनै अर्थ नराख्ने बताए  ।  उनले आफूले गरेका सबै निर्णय विधान सम्मत भएको दावी गर्दै निर्णयबाट पछि नहट्ने बताए । ‘जिल्ला अधिवेशनको दिन निर्वाचित पदाधिकारी र सदस्यको हकमा मात्रै कार्यदल बनाएर टुंगो लगाउने सहमति भएको हो’ उनले भने, ‘कस्लाई के पद दिने भन्ने विषयमा कुनै भद्र सहमति भएकै होइन ।’ उनले  मनोनित पदाधिकारी र सदस्य मनोनयन गर्ने अधिकारी सभापतिलाई हुने बताए । ‘सभापतिलाई काम गर्न सहज होस भनेर उसैले चाहेका व्यक्ति मनोनित गर्न पाइने भन्ने विधानमा उल्लेख छ’ उनले भने, ‘मैले आफ्नो अधिकार मात्रै प्रयोग गरेको हुँ यसमा कोहि पनि आत्तिनु पर्दैन  ।’ उनले मनोनित सदस्य समावेशी सिद्धान्तको आधारमा हुनुपर्छ भनेर विधानमा उल्लेख नभएको बताए । 
world news