नेपाल प्रहरीद्धारा अर्घाखाँचीमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु (भिडियो, तस्बिर सहित)


प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । जनताका सेवक हामी, जनता हाम्रा मित्र, सुरक्षित समाजको कोरौँ सुन्दर चित्र भन्ने मुल नाराका साथ नेपाल प्रहरीले अर्घाखाँचीमा पनि  ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ ।
नेपाल प्रहरीले समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरी नेपाल प्रहरीको समग्र छविमा अभिबृद्धि गर्ने लक्ष्य र विभिन्न उद्देश्यका साथ सोमबार देशभर एकैसाथ ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७२/०७३ को निती तथा कार्यक्रममा समावेश गरिएको ‘प्रहरी मेरो साथी’ अभियान देशभरका साथै अर्घाखाँची जिल्लामा पनि एक कार्यक्रमको आयोजना गरी प्रहरीले यो अभियान सुरु गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्धारा सन्धिखर्कमा अयोजित ‘प्रहरी मेरो साथी’ अभियानको शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियान सराहनीय रहेको भन्दै प्रहरीले अभियानसँगै जनता पनि मेरो साथी भन्ने सोचका साथ अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
त्यस्तै कार्यक्रममा सहभागीहरुले प्रहरी सेवामा राजनीतिक झण्डा ओढाउन काम बन्द भए अपराध न्युनीकरणमा धेरै सहयोग पुग्ने, ‘प्रहरी मेरो साथी’ अभियानलाई गाउँगाउँमा पुर्याउनु पर्ने, सानो दर्जाका प्रहरीले गर्ने व्यवहारमा सुधार हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।
बोल्ने सहभागीहरुले यस अघि प्रहरीको मुस्कान सहितको प्रहरी सेवाको उपलब्धीका विषयमा नागरिकलाई सुसुचित गराउनु पर्ने बताउँदै ‘प्रहरी मेरो साथी’ सबैलाई बुझाउनु पर्ने आवश्यक रहेको बताए । यस्तै विगत भन्दा अहिले प्रहरीमा धेरै सुधार आएको तर सानो दर्जाका प्रहरीले गर्ने व्यवहारमा सुधार हुनुपर्ने बताए ।
बोल्ने सहभागीहरुले प्रहरीले पनि नागरिकहरु मन जित्नु पर्ने बताउँदै प्रहरीको ‘प्रहरी मेरो साथी’ अभियान व्यवाहारमै लागूहुने बताए ।
जिल्ला प्रहरी कार्यलयमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी नायब उपरीक्षक नबरत्न पौडेलले ‘प्रहरी मेरो साथी’ अभियान आरम्भको उद्द्घाटन गरेका थिए । प्रहरी मेरो साथीको औपचारिक उदघाटन कार्यक्रममा प्रहरी प्रमुख नवरत्न पौडेल लगायतले गित-नृत्य प्रस्तुत गरेका थिए ।