अर्घाखाँचीमा ‘प्रहरी मेरो साथी’ अभियान: ‘प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्छ’ (भिडियो, तस्बिर सहित)

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार २७ ।  प्रहरीले नागरिकको विश्वास जितेर काम गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।  उनीहरुले प्रहरी र नागरिक बीचको सम्वन्ध सुमधुर हुनुपर्ने बताए । ‘प्रहरी मेरो साथी’ अभियानको समुदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले प्रहरीले नागरिकको जिउ धनको रक्षाका निम्ति कुनै कसुर बाँकी नराखेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले व्यानर अनावरण गरेर कार्यक्रमको उद्घाटन गरे । प्रमुख जिल्ला अधिकारी पौडेलले  समाजमा शान्ति सुरक्षा कायम गर्नमा प्रहरीले अग्रणि भूमिका खेलेको बताए । उनले  प्रहरीले सञ्चालन गरेको प्रहरी मेरा साथी कार्यक्रमले प्रहरी र जनताबीचको सम्वन्ध अझै प्रगाड बन्ने बताए । 
प्रहरी नायव उपरिक्षक पौडेलले मेरो साथी कार्यक्रमले सामुदायिक प्रहरी सेवा केन्द्रलाई टेवा पुग्ने बताए ।  ‘अपराधको सफल अनुसन्धान गर्न र समाजमा अशान्ति फैलन नदिन यो अभियान निकै प्रभावकारी हुनेछ’ उनले भने ।  उनले प्रहरीले नागरिकसँग नजिक हुने विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गरेको बताए ।  ‘प्रहरीले सामुदायिक प्रहरी सेवा केन्द्र र मुस्कान सहितको सेवा सम्बन्धी अवधारण यस भन्दा अघि नै ल्याएको थियो’ उनले भने, ‘अहिले प्रहरी मेरो साथी कार्यक्रम ल्याइएको हो ।’ उनले विद्यालयसँग मिलेर यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । ‘विद्यार्थी र युवालाई लक्षित गरेर यो कार्यक्रम ल्याइएको हो’ उनले भने, ‘विद्यार्थी र युवालाई फेसवुक र वेबसाइडसँग जोडेर सहकार्य गर्नेछौं ।’ उनले प्रहरीलाई सहयोग गर्ने सञ्जाल बनाएर काम गर्ने बताउँदै यसो गर्दा समाजमा घट्ने अपराधालाई न्यूनिकरण गर्न सकिने बताए । 
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थीले प्रहरीलाई साधन सुविधाले सम्पन्न बनाउनुपर्ने बताए । उनले प्रहरीले उच्च मनोबलका साथ काम गरेकाले प्रहरी प्रतिको विश्वास वढ्दै गएको बताए । सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले नेपाल प्रहरी दक्षिण एसियाकै पहिलो नम्बरमा रहेको भन्दै साधन श्रोतले सम्पन्न बनाए विश्वमै पहिलो हुने बताए ।  उनले सामुदायिक प्रहरी सेवा केन्द्रले समाजमा मेलमिलाप कायम गर्न निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।  अन्तरपार्टी महिला सञ्जालकी शुसिला गैरेले  प्रहरीले महिला हिंसाका घटनालाई गम्भीरताका साथ हेर्नुपर्ने बताइन । ‘महिला हिंसा गर्नेलाई प्रहरीले कडा कारवाही गर्नुपर्छ’ उनले भनिन,’दवावमा पारेर मेलमिलाप गराउनुहुँदैन ।’  कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।  राष्ट्रभक्ति गीत नृत्यले कार्यक्रमलाई निकै रमाइलो बनाएको थियो । प्रहरी नायव उपरिक्षक पौडेको सामुहिक नृत्यले दर्शकको ध्यान तानेको थियो । प्रहरीले प्रहरी मेरो साथी उद्घाटन कार्यक्रमको अवसर पारेर सन्धिखर्कमा -याली समेत निकालेको थियो । 

डटकमकर्मी  भुसाल  सम्मानित 
सोहि अबसरमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र न्याय क्षेत्रमा कलम चलाएको भन्दै जिल्ला प्रहरी कायालयले डटकमकर्मी अर्जुन भुसाललाई सम्मान  गरेको छ । भुसाललाई प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले सम्मान गरे । उनलाई नगद र सम्मान पत्रले सम्मान गरियो ।  
यस्तै पत्रकार सुर्य भुसाल, गणेश खनाल, महिला अधिकारकर्मी राधा नेपाली, ट्याक्सी व्यवसायी समितिका अध्यक्ष महेन्द्र कुमार भुसाल,  देउराली यातयात व्यवासायी समितिका चालक सुदिप खनाल, पश्चिम नेपाल बस व्यवसायी समितिका चालक बसका चालक कमल भुसाल, सुपा  देउराली मन्दिर व्यवस्थान समितिका प्रकाश गुरुङ्ग, नरपानी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक, गणेश विष्ट, प्रहरी हवल्दार सोवित वावु रेग्मी, मिना गुरुङ्ग र  प्रहरी जवान ललित जिसीलाई सम्मान गरिएको छ ।  
अन्य भिडियो तस्बिरमा: