अर्घाखाँचीमा ४० प्रतिशतले सम्बन्ध विच्छेद गर्ने बढे

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । बिहे गरेको ३ महिना नहुँदै २२ वर्षकी रिता क्षेत्री (नाम परिवर्तन) ले श्रीमानसँग सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत अर्घाखाँचीमा मुद्दा दर्ता गराउनुभयो ।
अदालती प्रक्रिया पूरा गरेर उहाँले सम्बन्ध विच्छेद गर्नुभयो ।   प्रेम विवाह भएपनि विवाहपछि श्रीमानसँग घटपट सुरु भयो । सानो कुरामा पनि विवाद हुन थालेपछि सम्बन्ध विच्छेद गर्नु परेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘ आमाबुवाले हतारमा बिहे नगर छोरी भन्दा मानिन, अहिले पछुतो लागेको छ ।’
रिता प्रतिनिधि पात्र मात्र हुन्, अर्घाखाँचीमा पछिल्लो समयमा सम्बन्ध विच्छेद गर्ने पुरुष र महिलाको संख्यामा बढेको छ । जिल्ला अदालतका अनुसार यो वर्ष ७६ जोडीले  सम्बन्ध विच्छेद गरेका छन् । बहुविवाह, पारिवारिक अनमेल, साना तिना झैझगडा लगायतका कारणले सम्बन्ध विच्छेदका घटना बढेका छन् ।
यस्तै वैदेशिक रोजगारीका कारण पनि सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको नेपाल बार एसोसिएसनका जिल्ला सचिव बिजय केसीले बतानुभयो ।
जिल्ला अदालतमा सम्बन्ध विच्छेदको तथ्यांक हेर्ने हो भने गएको वर्षको तुलनामा यो वर्ष अर्थात गएको साउनदेखि असार मसान्तसम्ममा झण्डै ४० प्रतिशतले बढेको छ । सम्बन्ध विच्छेद गर्नेमा सबै भन्दा धेरै २० देखि ३० वर्षका छन् । 
world news